एजेन्सी, इटालियन सिरी ‘ए’ अन्तर्गत गएरातिको खेलमा नापोली र रोमाले बराबरी खेलेका छन् । सुरुवाती अग्रता जोगाउन नसक्दा घरेलु टोली नापोली १० खेलाडीमा सीमित रोमासँग १–१ को बराबरीमा रोकिएको हो ।
डिएगो अर्मान्डो म्याराडोना स्टेडियममा खेलको ११ औं मिनेटमा लोरेन्जो इनसिग्नेले पेनाल्टीमार्फत गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । ७८ औं मिनेटमा गोलरक्षक ड्यानियल फुजाटोले रातो कार्ड बेहोर्दै मैदान छाडेपछि रोमा १० खेलाडीमा समेटियो ।
थप गरिएको समयमा स्टेफन शारावीले गोल गरेपछि खेल १–१ को बराबरीमा टुंगियो । यो नतिजासँगै ३३ खेलमा ६८ अंक जोडेको नापोली तेस्रो तथा समान खेलबाट ५८ अंकका साथ रोमा पाँचौं स्थानमा यथावत छन् ।
लिगकै अर्को खेलमा हेलास भेरोनाले एट्लान्टामाथि २–१ को जीत दर्ता गरेको छ ।