13.1 C
Nepal
Monday, December 4, 2023
spot_img
spot_img

अझै ९ महिना कुर्नपर्ने एक वर्षअघि ओलीले हतारमा उद्घाटन गरेको धरहरा चढ्न

spot_img

काठमाडौ, धरहरा चढेर काठमाडौँ सहर नियाल्ने रहर पूरा गर्न अझै ९ महिना कुर्नुपर्ने भएको छ। ऐतिहासिक धरहरा टावरको पुनर्निर्माण कार्य सकी उद्घाटन गरेको पनि एक वर्ष पुग्न लाग्दासम्म सर्वसाधारण जान पाएका छैनन्।

गत वैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी ओलीले उक्त टावरको उद्घाटन गरेका थिए। एक वर्षअघि उद्घाटन गरिएको भए पनि सर्वसाधारणले धरहरा चढ्न अझै ९ महिना कुर्नुपर्ने जनाइएको छ।

उद्घाटनको समयमा धरहराको मात्रै पुनः निर्माण सम्पन्न भएको र अन्य धेरै काम बाँकी रहेकाले अझै प्रयोगमा आउन नसकेको हो।

भूकम्प गएको तीन वर्षपछि मात्रै यस सम्पदाको पुनः निर्माणको कामले गति लिएको थियो। गोर्खा भूकम्पले ढलेको धरहरा पुनः निर्माणको सुरुआत २०७५ पुस १२ मा भएको हो।

विसं २०७२ को विनाशकारी भूकम्पबाट धरहरालगायत अन्य धेरै ऐतिहासिक सम्पदा ध्वस्त भएका थिए।

चौथो पटक थप समयको माग

यस ऐतिहासिक सम्पदा पुनः निर्माणका लागि तेस्रोपटक थपिएको समयमा पनि काम सम्पन्न नभएपछि निर्माणको जिम्मा पाएको रमन कन्स्ट्रक्सनले चौथो पटक थप समय माग गरेको छ। तेस्रोपटक थपिएको समय यही चैत मसान्तमा सकिन्छ।

दुई वर्षको अवधिमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको भए पनि पूर्ण रूपमा काम सम्पन्न हुन अझै समय लाग्ने भएपछि समय थप्न आग्रह गरिएको हो।

- Advertisement -

रमन कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर सञ्जय नकर्मीका अनुसार कोरोना महामारी र अन्य केही आन्तरिक समस्याका कारण निर्धारित समयमै काम पूरा नहुने भएपछि पुनर्निर्माण लागि पुनः चौथो पटक समय माग गरिएको हो।

नेपाली र केही भारतीय नागरिकसहित दैनिक २२० जना कामदारले अहिले नियमित रूपमा निर्माण कार्यमा जुटिरहेका छन्। धरहरा निर्माणको मुख्य काम सकिए पनि सौन्दर्य अभिवृद्धि र पार्किङको काम बाँकी भइरहेको छ।

नयाँ धरहरामा बगैँचा, सङ्ग्रहालय, रङ्गीन जल फोहरा, प्रदर्शनी हल, पार्किङ स्थल, पसललगायत रहने छन्। धरहरा परिसरमा पार्किङसहित रेस्टुराँ, बगैँचा, पुस्तकालयलगायतको सुविधा हुनेछन्।

गोश्वारा हुलाक भएको स्थानमा पार्क बनाउन अहिले उक्त भवन भत्काइसकिएको छ। पार्कभित्र बस्ने ठाउँ, ढुङ्गेधारा, हरियाली, चमेना गृह हुनेछ। धरहरामा पढ्न चाहने, ध्यान गर्न चाहने या बस्न चाहने सबैका लागि सुविधा उपलब्ध हुनेछ।

बालबालिका तथा ज्येष्ठ नागरिकमैत्री हुने र त्यहाँ आउने अवलोकनकर्ता सवारी साधनको व्यवस्थित पार्किङ गर्न सकिने गरी पुनर्निर्माण भइरहेको छ।

पुरातात्त्विक हिसाबले महत्त्व बोकेको काठमाडौँलाई सुरक्षित र आकर्षित बनाउन ऐतिहासिक सम्पदाको पुनर्निर्माण अत्यावश्यक भएको काठमाडौँ महानगरपालिकाको भनाइ छ।

धरहराको १८औँ तलामा अवलोकन कक्ष हुनुका साथै धरहरा परिसरमा म्युजियम, वाटर फाउन्टेन, बगैँचा, रेस्टुरेन्टका साथै अत्याधुनिक पार्किङको व्यवस्था गरिने छ।

त्यहाँ ३५० वटा गाडी र छ हजार मोटरसाइकल पार्किङ गर्न मिल्ने बताइएको छ। विगतमा ११ तले धरहरा ९० सालको भूकम्पका कारण क्षतिग्रस्त भएपछि ९ तले भएको थियो।

ऐतिहासिक धरहरा सन् १८३२ मा भीमसेन थापाले निर्माण गरेका थिए।

रासस

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img