काठमाडौं, सरकारले एक प्रदेशबाट अर्को प्रदेशमा चल्ने लामोदुरीका यातायाताको भाडा बढाउन सैध्दान्तिक सहमति दिएको छ ।
पेट्रोलिमय पदार्थको मूल्यवृद्धि भएपछि सरकारले स्वचालित भाडा निर्धारणको अवधारणा अनुरुप सो भाडादर वृद्धिका लागि मन्त्रिस्तरीय निर्णयबाट सैध्दान्तिक सहमती दिइएको यातयात व्यबस्था महानिर्देशक नमराज घिमिरेले जानकारी दिए ।
यो भाडादर छोटो दुरी वा उपत्यकामा चल्ने यातायातका साधनका लागि भने नभएको उनले बताए । सार्वजनिक यातायातका साधनको भाडादरमा स्वचालित प्रणाली लागू भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै स्वचालित भाडा प्रणाली सम्बन्धी कार्यविधि स्वीकृत गरेको हो ।
मन्त्रालयले उक्त कार्यविधि स्विकृत गरेर यातायात व्यवस्था विभागलाई पठाइसकेकाले उक्त कार्यविधि अनुसार भाडादर निर्धारण गर्ने काम भइरहेको विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिए ।
उनका अनुसार स्वचालित भाडा प्रणाली लागू भएसँगै अबदेखि पेट्रोलियम पदार्थको मूल्य पाँच प्रतिशत घटबढ हुँदा सार्वजनिक यातायातका साधनको भाडा पनि घटबढ हुने छ ।
पेट्रोलियम पदार्थको मुल्य पाँच प्रतिशतभन्दा कम तलमाथि हुँदा भने सार्वजनिक सवारीको भाडा चलाइने छैन् । ‘पेट्रोलियम पदार्थको मुल्य पाँच प्रतिशतभन्दा माथि बढ्यो भने त्यसैका आधारमा सार्वजनिक यातायातका साधनको भाडादर पनि बढ्छ ।
घट्यो भने पनि घटेको प्रतिशतका आधारमा नै सार्वजनिक यातायातका साधनको भाडादर घट्छ,’ उनले भने ।
महानिर्देशक घिमिरेका अनुसार अहिले पेट्रोलियम पदार्थको मुल्य बढेको हुनाले त्यसैका आधारमा यात्रुबाहक तथा मालबाहकसहित पहाडी तथा तराई क्षेत्रमा रुटअनुसार कम्तिमा १० देखि १४ प्रतिशतसम्मले भाडा बढ्नेछ ।
तर, विभागले अन्तरप्रदेश रुटको सूचीसहित नयाँ भाडादर भने आइतबार प्रकाशित गर्ने महानिर्देशक घिमिरेले बताए ।