एजेन्सी, अफगानिस्तानमा फेरि अर्को विस्फोट भएको छ। कुन्दुज प्रान्तमा रहेको एउटा मस्जिदमा भएको विस्फोटनमा परी कम्तीमा २५ जनाको मृत्यु भएको हो।
घटनामा पनि अरू झन्डै ४० जना घाइते भएको प्रारम्भिक विवरण प्राप्त भएको अधिकारीहरूले जानकारी दिएका छन्। हरेक शुक्रबार हुने प्रार्थना सकिएको केही समयमै मस्जिदमा विस्फोट भएको प्रत्यक्षदर्शीले बताएका छन्।
स्थानीय समयअनुसार दिउँसो २: ३० बजे विस्फोट भएको हो। घाइतेहरूलाई उपचारका लागि विभिन्न अस्पतालमा लगिएको छ। घटनामा परी घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने स्वास्थ्यकर्मीले बताएका छन्।
घटनास्थललाई अहिले तालिबान सरकारका सुरक्षाकर्मीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएका छन्। घटनाका बारेमा अहिलेसम्म कसैले जिम्मेवारी लिएको छैन।
यसअघि गत बिहीबार भएको विस्फोटनको घटनामा परी ३४ जनाको मृत्यु भएको थियो भने ८० जना घाइते भएका थिए।
रासस/सिन्ह्वा