काठमाडौ, विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र अल्पमतमा परेका छन्। ९६ जना केन्द्रीय सदस्य उजुरी बोकेर निर्वाचन आयोग पुगेपछि अध्यक्ष मिश्र अल्पमतमा परेका हुन्।
आइतबार बसेको विवेकशील साझा पार्टीको केन्द्रीय कमिटी बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)सँगको एकताबारे स्पष्ट पार्न केन्द्रीय सदस्यहरुले मिश्रलाई आग्रह गरेका थिए।
मिश्रले एजेन्डा नै नरहेको विषयलाई औपचारिक रुपमा बहसमा ल्याउन नचाहेको बताएपछि केही केन्द्रीय सदस्यहरुले हो(हल्ला गरेका थिए।
त्यसपछि अवरुद्ध भएको बैठकलाई अन्त्यमा प्रदेश संयोजकहरू तोकेको निर्णय सुनाउँदै मिश्रले आकस्मिक अन्त्य गरिदिएका थिए।
त्यसपछि आक्रोशित असन्तुष्ट समूहले सोमबार मिश्रलाई बाइपास गर्दै बहुमत केन्द्रीय समितिको छुट्टै बैठक बोलाएको थियो।
उक्त बैठकले अघिल्लो दिन मिश्रले बहुमत नहुँदै एकलौटी गरेका प्रदेश संयोजक चयन लगायत निर्णय स्वीकार्ने निर्णयसहित मिश्रलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।
जेष्ठ सदस्य भीमप्रसाद अधिकारीको अध्यक्षतामा बसेको असन्तुष्ट समूहको बैठकले मिश्रलाई अध्यक्ष पदबाट निस्कासन किन नगर्नुरु भनेर ३ दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिने निर्णय गरेको थियो।
त्यसका साथै स्पष्टीकरण प्राप्त भएर वैधानिक कारबाही सम्पन्न नहुँदासम्म मिश्रलाई थप बैठक आह्वान गर्न रोक लगाउने, डाकिएका सबै बैठक स्थगित गराउने र कुनै पनि बैठकको अध्यक्षता गर्न रोक लगाउने लगायत चार बुँदे निर्णय गरेको थियो।
असन्तुष्ट समूहको निर्णय र मिश्रलाई कारवाहीको माग राख्दै संगठन विभाग प्रमुख निर्देश सिलवाललगायत केन्द्रीय सदस्यहरुले सोमबार निर्वाचन आयोग निवेदन दर्ता गराएका छन्।
‘आइतबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकमा बहुमत केन्द्रीय सदस्यहरुको मतलाई बेवास्ता गर्दै पार्टी अध्यक्षले गरेका निर्णयहरु बहुमत केन्द्रीय सदस्यहरुलाई अमान्य रहेको जानकारी गराउँछौँ,’ निवेदनमा भनिएको छ।
अल्पमत
उक्त निवेदनसँगै बुझाइएको केन्द्रीय सदस्यहरुको नामावली अनुसार अध्यक्ष मिश्र पार्टीमा अल्पमतमा देखिएका हुन्।
नेपालखबरलाई प्राप्त विवरण अनुसार विवेकशील साझाका १६३ केन्द्रीय केन्द्रीय सदस्यमध्ये ९६ जनाको नामावली निर्वाचन आयोगमा बुझाइएको छ।
पार्टीमा बहुमत पुर्याउन ८२ केन्द्रीय सदस्य आवश्यक पर्छ। तर निर्वाचन आयोगमा ९६ जनाको नामावली बुझाइएको छ। जसबाट मिश्रको पक्षमा ६७ जना केन्द्रीय सदस्य मात्रै उभिएका प्रष्ट भएको छ।
असन्तुष्ट समूहका एक नेता तथा पार्टीका प्रदेश सभा सदस्य विराजभक्त श्रेष्ठले उपस्थितहरुको हस्ताक्षर गराइएको र अनुपस्थितहरुले विद्युतीय माध्यमबाट हस्ताक्षर पठाएको बताए।
‘निर्वाचन आयोगमा दर्ता निवेदनमा ९६ जना केन्द्रीय सदस्यको हस्ताक्षरसहितको नामावली बुझाएका छौं। ती सबै उपस्थित थिएनन्। तर हस्ताक्षर संकलन भएको हो’, उनले भने, ‘७० जनाको हस्ताक्षर छ। बाँकीले विद्युतीय माध्यमबाट हस्ताक्षर गरेर सनाखत गरेका छन्।’
उनका अनुसार केही समयअघि साझासँग मिसिएको जनता दरबारबाट आएका १४ मध्ये अधिकांश सदस्य, विवेकशील साझाका ६५ जना र साझाले कारबाही गरेर निष्कासित गरेको तत्कालिन संयोजक मिलन पाण्डे समूहका २६ जनाले मिश्रविरुद्ध हस्ताक्षर गरेका छन।
रवीन्द्र मिश्र पक्षका एक नेताले राप्रपासँग मिल्न नहुने भनि गरिएको हस्ताक्षर संकलनलाई अध्यक्षलाई कारबाही गर्ने भनेर दुरुपयोग गरिएको बताए। बहुमत देखाउँन सके त्यो कारवाही स्वीकार्ने पक्षमा मिश्र समूह देखिएको छ।
पार्टी प्रवक्ता शरदराज पाठकले अहिले भइरहेका प्रयत्नहरु पार्टी निर्माणभन्दा पनि विर्निर्माणतर्फको कदम भएको बताए। उनले असन्तुष्ट भनिएका हरु स्वचालित भन्दा पनि परिचालित भएर लागिरहेको कतिपय केन्द्रीय सदस्यहरुले नै प्रश्न गरिरहेको बताए।