एजेन्सी, रोयल च्यालेन्जर्स बैंगलोरले आइपीएल २०२२ को १८ औं खेलमा मुम्बई इन्डियन्सविरुद्ध सहज जीत निकालेको छ । शनिबार भएको खेलमा मुम्बईविरुद्ध आरसीबीले ७ विकेटको जीत निकालेको हो ।
यो जीतसँगै आरसीबी अब अंक तालिकाको तेस्रो नम्बरमा पुगेको छ । मुम्बईले पहिले ब्याटिङ गरेको खेलमा १ सय ५१ रनको योगफल मात्र तयार गर्न सकेको थियो ।
आरसीबीलाई यो लक्ष्य भेट्याउन त्यति गाह्रो भएन । उसले ९ बल बाँकी रहँदा नै यो लक्ष्य भेट्याएको हो ।
आरसीबीका लागि अनुज रावतले ६६ तथा विराट कोहलीले ४८ रनको पारी खेले । फाफ डु प्लेसिसले यो खेलमा टस जित्दै पहिले बलिङ गर्ने फैसला गरेका थिए ।
मुम्बईका लागि रोहित शर्मा र इशान किसनले २६–२६ रन बनाएर राम्रो सुरुवात गरेका थिए । मुम्बईको स्कोरबोर्डमा ५० रन पुग्दा शर्मा आउट भए ।
त्यसपछि मुम्बईको विकेट झर्ने क्रम बढ्यो ।
त्यसको १२ रनमा नै मुम्बईले ४ विकेट गुमाएको थियो । ५० रनमा पहिले विकेट गुमाएको मुम्बईको स्कोर ६२ रन हुँदा ६ विकेट गुमिसकेको थियो ।
मुम्बईको यो लयका कारण उसले १ सय २० रनसम्म बनाउन सक्ने अनुमान गर्न थालिएको थियो । तर, सूर्यकुमार यादवले आएर मुम्बईका लागि सास भरे । उनले ६८ रनको पारी खेलेर टिमको स्कोर १ सय ५१ रन बनाए ।
यसका लागि उनले ५ चौका र ६ छक्का प्रहार गरेका थिए ।