एजेन्सी, जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरात टाइटन्सले पहिलो हार व्यहोरेको छ। सोमबार राति सम्पन्न खेलमा गुजरातलाई सनराइजर्स हैदराबादले ८ विकेटले पराजित गरेको हो।
जितका लागि पछ्याएको १ सय ६३ रनको लक्ष्य हैदराबादले १९ ओभर १ बलमा २ विकेट गुमाएर पूरा गर्यो। हैदराबादको जीतमा कप्तान केन विलियम्सनले ५७ रनको अर्धशतकीय इनिङ खेले भने अभिषेक शर्माले ४२ रन बनाए।
गुजरातका हार्दिक पान्ड्या र राशिद खानले समान १–१ विकेट लिए। मुम्बईको डिवाई पाटिल स्पोर्टस् एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६२ रन बनायो।
उसका कप्तान हार्दिकले ५० रनको अविजित अर्धशतकीय इनिङ खेले भने अभिनव मनोहरले ३५ रन बनाए। हैदराबादका भुवनेश्वर कुमार र टी नाटराजनले समान २–२ विकेट लिए।
जारी आईपीएलमा गुजरातको यो पहिलो हार हो। यसअघि उसले तीन खेलमा लगातार जीत निकाल्दै अपराजित रहेको थियो। हैदराबादको भने यो ४ खेलमा दोस्रो जीत हो।