काठमाडौ, मेलम्ची खानेपानी आयोजनाले आजदेखि फेरि काठमाडौं उपत्यकामा पानी पठाउने भएको छ ।
मंगलबार बिहान सिन्धुपाल्चोकस्थित मेलम्ची आयोजनाको मुख्यद्वार ३८ नम्बरको ढोका खोली सुरुङमा पानी पठाएर आयोजना पुनः सञ्चालन गरिन लागेको हो ।
आयोजनाको पुनः उद्घाटन खानेपानी मन्त्री उमाकान्त चौधरीले गर्ने कार्यक्रम छ । उद्घाटनमा प्रधानमन्त्री देउवा पनि सिन्धुपाल्चोक जाने कार्यक्रम तय भएपनि निर्वाचन आचारसंहिताका कारण प्रधानमन्त्री उक्त कार्यक्रममा सहभागी नहुने खानेपानी मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले मेलम्चीको अम्बाथानस्थित अडिटमा पुगेर उद्घाटन गर्ने कार्यक्रम रहेको छ । असार १ र साउन २७ गते सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढीले आयोजनामा क्षति पुर्याएपछि आयोजनाबाट पानी सञ्चालन पूर्ण रूपमा बन्द भएको थियो ।
खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यका अनुसार आज अम्बाथानबाट सुरुङमा पानी हालिने, सो पानी सुन्दरीजलस्थित वाटर ट्रिटमेन्ट प्लान्टमा आइपुग्नेछ ।
अस्थायी रूपमा पानी ल्याउनका लागि सबै संरचना तयार भएको मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता डिभिजनल इन्जिनियर राजेन्द्र पन्तले जानकारी दिए ।
मेलम्ची खानेपानी आयोजना क्षेत्रमा पुग्ने ६ मध्ये तीन ठाउँमा अस्थायी मोटरेबल पुल निर्माण भएका छन् ।