एजेन्सी, उत्तर कोरियाली ह्याकरहरूले मार्चमा ६१.५ करोड अमेरिकी डलरको क्रिप्टोकरेन्सी चोरी प्रकरणमा संलग्न भएको अमेरिकाले आरोप लगाएको छ।
एक अनलाइन गेमिङ कम्पनीसँग मिली उत्तर कोरियाली ह्याकरहरू चोरी प्रकरणमा सामेल भएको अमेरिकी अनुसन्धान एजेन्सी एफबिआईले जनाएको हो।
मार्चमा ‘ुएक्सी इनफिनिटी’ नामको लोकप्रिय अनलाइन गेमिङ कम्पनीलाई ठूलो झट्का लागेको थियो । यस कम्पनीले आफ्ना ग्राहकहरूलाई अनलाइन गेम खेलेर क्रिप्टोकरेन्सी कमाउने अवसर दिन्छ ।
अमेरिकी अधिकारीहरूका अनुसार क्रिप्टोकरेन्सीको इतिहासमा यो सबैभन्दा ठूलो ह्याकिङमा उत्तर कोरियाको ‘लाजरस’ समूह संलग्न रहेको छ । यो समूह उत्तर कोरियाको इन्टेलिजेन्स ब्यूरोले सञ्चालन गरेको मानिन्छ ।
एफबिआईले बिहीबार आफ्नो बयानमा भन्यो, ‘आफ्नो अनुसन्धानमा हामीले लाजरस समूह र ‘एपिटी ३८’ का साइबर आक्रमणकारीहरू यस चोरीको लागि जिम्मेवार रहेको पायौं ।’
लाजरस समूह सन् २०१४ मा चर्चामा आएको थियो । उसले त्यतिबेला सोनी पिक्चर्स ह्याक गरेको र यसको गोप्य डाटा सार्वजनिक गरेको आरोप लागेको थियो ।
उक्त समूहले सोनीलाई आफ्नो आगामी फिल्म ‘द इन्टरभ्यु’ रिलिज नगर्न आग्रह गरेको थियो । त्यो कमेडी फिल्म उत्तर कोरियाली शासक किम जोङ उनको हत्याको षड्यन्त्रमा बनेको थियो ।