काठमाडौ, सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पार्टीले अध्यक्ष माधवकुमार नेपाललाई चुनावी कमान्डर तोकेको छ।
आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि पार्टीले नेपाललाई चुनावी कमान्डर बनाएको हो।
समाजवादी चैत २६ र २७ मा बसेको केन्द्रीय सचिवालयको २० औँ बैठकले अध्यक्ष नेपालको नेतृत्वमा निर्वाचन परिचालन कमिटी गठन गरेको हो।
नेपालको संयोजकत्वमा केन्द्रीय कमिटी, तीनोटै केन्द्रीय आयोग, केन्द्रीय सल्लाहकार परिषद् र केन्द्रीय जेष्ठ कम्युनिष्ट मञ्चका सबै पदाधिकारी एवं सदस्यहरु, केन्द्रीय परिषद् सदस्यहरु, प्रदेशका पदाधिकारी, जिल्ला अध्यक्ष र जनसङ्गठनका केन्द्रीय पदाधिकारी रहेको ११ सय ११ सदस्यीय मूल निर्वाचन परिचालन कमिटी गठन गरिएको महासचिव वेदुराम भुसालले बताए।
त्यसैगरी महासचिव भुसालको संयोजकत्वमा प्रकाश ज्वाला, गंगालाल तुलाधर, विजय पौडेल, जगन्नाथ खतिवडा, जीवनराम श्रेष्ठ, विश्वनाथ प्याकुरेल, सोमप्रसाद पाण्डे, केदार सञ्जेल, सूर्य खत्री र द्रोणाचार्य क्षेत्री सदस्य रहेको निर्वाचन परिचालन केन्द्रीय सचिवालय पनि गठन गरिएको छ।
स्थानीय तह निर्वाचनका सन्दर्भमा पार्टीले जारी गर्ने स्थानीय निर्वाचन घोषणा पत्र–२०७८ को मस्यौदामा छलफल गरी सुझावसहित पारित गरिएको पनि महासचिव भुसालले बताए।