चितवन, प्रमुख प्रतिपक्षी नेकपा एमालेबाट चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा विजय सुवेदी उम्मेदवारमा सिफारिस भएका छन्।
बागमती प्रदेश सरकारका पूर्वसामाजिक विकास मन्त्रीसमेत रहेका सुवेदीलाई एमाले भरतपुर महानगर कमिटीले मेयरको उम्मेदवारमा सिफारिस गरेको हो।
सुवेदीको नाम मेयरका रुपमा तल्ला कमिटीबाट आएको जानकारी एमाले स्थायी कमिटी सदस्य एवम् बागमती प्रदेश इन्चार्ज काशीनाथ अधिकारीले दिएका छन्।
भरतपुरसहित चितवनका अन्य पालिकामा पनि उम्मेदवारी सिफारिस अघि बढेको छ। भरतपुरको हकमा महानगर कमिटीले सुवेदीलाई सर्वसम्मत मेयरका रुपमा अघि सारेको जानकारी आएको छ, अधिकारीले भने, महानगर कमिटीबाट यदि सर्वसम्मत सिफारिस आयो भने उहाँ नै एमालेबाट मेयरका उम्मेदवार हुने सम्भावना बलियो छ।
सुवेदी २०७४ को प्रदेशसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर २ ख बाट बागमती प्रदेशसभामा विजयी भएका थिए। उनी अष्टलक्ष्मी शाक्य छोटो समय मुख्यमन्त्री हुँदा सामाजिक विकास मन्त्री बनेका थिए।
सुवेदीको नाम मेयरको उम्मेदवारका रुपमा सिफारिस गर्न आइतवारै एमाले भरतपुर महानगर कमिटीको बैठक बसेको छ।
आइतबार पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीसहितको उपस्थितिमा भएको महानगर कमिटीको बैठकले सुवेदीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
भरतपुरको मेयरमा एमालेबाट पोलिटब्युरो सदस्य देवीप्रसाद ज्ञवाली र कृष्णभक्त पोखरेलको नाम पनि चर्चा थियो। ज्ञवालीले नै सुवेदीलाई मेयर पदको उम्मेदवार बन्न प्रस्ताव गरेका हुन्।
२०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा ज्ञवाली भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवार थिए । नेपाली कांँग्रेस र नेकपा माओवादी केन्द्रबीच तालमेल हुँदा उनी झिनो मतान्तरले पराजित भएका थिए ।
यो बैठकले एकताको सन्देश दिने गरी सुवेदीको नाम सर्वसम्मत सिफारिस गरेको हो। सुवेदीलाई सर्वसम्मत मेयरको उम्मेदवारका रुपमा अघि बढाउन २०७४ मा रेणु दाहालसँग पराजित देवी ज्ञवाली प्रस्तावक बसे।
त्यस्तै सुवेदीको नाममा संघीय सांसद कृष्णभक्त पोखरेलले समर्थन जनाएर माथिल्लो कमिटीमा सिफारिस पठाइएको हो।
सुवेदीले यसअघि एमाले जिल्ला कमिटी अध्यक्षका रुपमा तीन पटकसम्म नेतृत्व लिइसकेका छन्। एमालेमा महानगरका मेयर(उपमेयरका उम्मेदवारको नाम केन्द्रीय कमिटीले टुंग्याउने निर्णय गरिएको छ।
तर, अर्कातिर कांँग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनमा मेयरको उम्मेदवारलाई लिएर जारी विवाद अझै मिलेको छैन्। २०७४ मा माओवादीबाट निर्वाचित पुष्पकमल दाहाल पुत्री पनि त्यहाँ दोहोरिने योजनामा छन्।
तर, कांँग्रेस जिल्ला कार्यसमितिले माओवादीलाई भरतपुरको मेयर दिन नसकिने भन्दै काठमाडौंमा डेलिगेसन आएर आइतवार मात्रै फर्किएको छ।