काठमाडौं, नेकपा एमालेले गत चैत ३० गते राप्रपा नेपाल र नेपाल परिवार दलसँग भएको सहमति कार्यान्वयन गर्न प्रदेश तथा जिल्ला कमिटीलाई निर्देशन पठाएको छ।
महासचिव शंकर पोखरेलले बुधबार पठाएको पत्रमा भनिएको छ, सहमति पत्रको आधारमा पार्टीको प्रभाव र अवस्था हेरी आ-आफ्नो कार्य क्षेत्रमा आवश्यक अनुसार सहमति कार्यान्वयनको कार्य अगाडि बढाउनु हुन निर्देशन गरिएको छ।
त्यस्तै, राष्ट्रिय जनमोर्चाबाट विद्रोह गरेको राष्ट्रिय जनमोर्चा केन्द्रीय समन्वय समितिसँग सहकार्य गर्न सकिने भएकाले पत्रमा संलग्न विवरण अनुसारका प्रतिनिधिहरुसँग समेत सहकार्यको लागि समन्वय गर्न निर्देशन दिइएको छ।
नेकपा एमालेले गत चैत ३० गते राप्रपा नेपाल र नेपाल परिवार दलसँग एकैदिन तालमेलको निर्णय गरेको थियो। दुवै पार्टीसँग गरिएको सहमतिको पहिलो बुँदामा भनिएको छ, देशभरिका तालमेल सम्भव पालिकाहरुमा आपसी तालमेल गरेर उम्मेदवार उठाउने।
सूर्य चिह्नबाट चुनाव लड्ने, एकअर्काका उम्मेदवारलाई सघाउने, ती पार्टीका जिल्ला कमिटीहरुले आपसमा छलफल गर्ने, सहकार्यका लागि प्रस्ताव तयार गर्ने र आ-आफ्नो पार्टी केन्द्रमा पठाउने पनि सहमतिमा उल्लेख छ।