11.3 C
Nepal
Wednesday, November 29, 2023
spot_img
spot_img

एमोलेभित्र एक्लिँदै पूर्वमाओवादी खेमा

spot_img

काठमाडौं, दुई ठूला कम्युनिस्ट पार्टीहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते भएको एकता ३३ महिना पनि टिक्‍न सकेन।

पार्टी विभाजनको बाहना बनेको थियो, तात्कालीन प्रधानमन्त्री केपी ओलीले संसद् विघटन। एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टीमा ओलीले संसद् विघटन गरेपछि दुई धारमा विभाजित बन्‍यो।

त्यही समयमा नेपाल कम्युनिस्ट पार्टीको नामका विषयमा ऋष कट्टेलले दायर गरेको मुद्दामा फैसला गर्दै सर्वोच्च अदालतले २०७७ फागुन २३ गते ओली र पुष्पकमल दाहाल नेतृत्वको नेकपा खारेज गर्‍यो।

यससँगै नेपाल कम्युनिस्ट पार्टीको वैधानिकता ऋषि कट्टेलले प्राप्त गरे। नेकपाको वैधानिकता कट्टेलले प्राप्त गरेसँगै एमाले–माओवादी एकतापछि बनेको नेकपाको अस्तित्व समाप्त भयो र नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिए।

अलग पार्टी बनेपछि माओवादीका प्रभावशाली नेताहरू रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापालगायत एमाले प्रवेश गरे।

एमालेभित्रका असन्तुष्ट पक्षचाहिँ माओवादीमा गएनन् बरु नयाँ पार्टी एकीकृत समाजवादी गठन गरेर अहिले माओवादीसँगै गठबन्धन गरिरहेका छन्।

माओवादी नेताहरू एमाले प्रवेश गरेको एक वर्ष बितिसकेको छ। यसबीचमा एमालेबीच दशौं महाधिवेशन सम्पन्‍न भएको छ।

उक्त महाधिवेशनमा पूर्वमाओवादीलाई पदाधिकारीमा जिताउन एमाले नेतृत्वले राम्रो साथ दियो। यद्यपि पूर्वमाओवादीहरू एमालेको शक्ति-संघर्षमा निम्छरो देखिएका छन्।

- Advertisement -

ओली समूहको दबदबा रहेको एमालेको शक्ति-केन्द्रबाट उनीहरु किनारतिर धकेलिँदै गएका छन्। पूर्वमाओवादीको कमजोर अवस्था एमालेका बैठकहरूबाट पनि देख्‍न सकिन्छ।

हालै सम्पन्‍न केन्द्रीय कमिटीको तेस्रो बैठक (चैत्र ९ र १०) र स्थायी कमिटीको बेठकमा पनि पूर्वमाओवादी नेताहरुको प्रदर्शन फितलो रह्यो। उनीहरूले एमाले नेतृत्वसँग आफ्ना कुरा प्रष्ट राख्‍न सकेनन्।

उपाध्यक्ष रहेका रामबहादुर थापाले निर्वाचनको विषयमा पार्टीको निर्णय नै मान्य हुने जवाफ दिँदै केपी ओलीकै बोलीमा सही थापे।

थापाले भनेका थिए,अप्ठेरो परिस्थितिमा एमालेलाई साथ दिने पूर्वमाओवादी हुन् वा अरु कोही, उनीहरुलाई सम्मानजनक भूमिका दिनुपर्छ भनेर हामीले नेतृत्वसँग भनिसकेका छौं।’

केन्द्रीय कमिटीको तेस्रो बैठकमा पूर्वमाओवादी खेमाले पार्टी प्रवेश गर्नेहरूलाई स्थानीय निर्वाचनमा उचित स्थान दिनुपर्ने एजेन्डा उठाउन खोजेका थिए।

अध्यक्षको प्रतिवेदनमाथि बोल्न चाहने केन्द्रीय सदस्यले लिखित नोटसहित बोल्नुपर्ने भनिएपछि उनीहरूले आफ्ना कुरा राख्‍न पाएनन्।

बादलका अनुसार पूर्वमाओवादीलाई आगामी निर्वाचनमा कुन भूमिका दिनबारे एमालेभित्र छलफल भइरहेको छ। त्यसमा पूर्वमाओवादी खेमाले सम्मानजनक भूमिका दिनुपर्ने माग राखेका छन्।

केन्द्रीय कमिटीको तेस्रो बैठकमा पूर्वमाओवादी खेमाले पार्टी प्रवेश गर्नेहरूलाई स्थानीय निर्वाचनमा उचित स्थान दिनुपर्ने एजेन्डा उठाउन खोजेका थिए।

अध्यक्षको प्रतिवेदनमाथि बोल्न चाहने केन्द्रीय सदस्यले लिखित नोटसहित बोल्नुपर्ने भनिएपछि उनीहरूले आफ्ना कुरा राख्‍न पाएनन्।

केही दिनअघि एमाले सुदूरपश्चिमको इन्चार्ज रहेका पूर्वमाओवादी नेता लेखराज भट्टले आफ्नो प्रदेशमा माओवादी शून्य भइसकेको बताएका थिए।

केन्द्रीय कमिटीको बैठकमा भने सुदूरपश्चिमका अध्यक्ष दामोदर भण्डारीले गठबन्धन नबने पनि एमालेले ८८ मध्ये ३८ पालिकाको नेतृत्व जित्‍ने दाबी गरे। भण्डारीले १९ वटा पालिकामा भने एमालेको अवस्था कमजोर रहेको रिपोर्टिङ गरे।

आफूसँग रहेका स्थानीय नेता–कार्यकर्ता ‘सेभ’ गर्न पनि एमालेभित्रका पूर्वमाओवादीसँग चुनौती छ। उनीहरू केपी ओली पक्षलाई रिझाएर पूर्वमाओवादीलाई स्थानीय निर्वाचनमा टिकट दिने वातावरण बनाउन व्यस्त छन्।

राजनीतिक विश्लेषक हरि रोकाले माओवादीका संस्थापन भनिएका नेताहरु नै मूल पार्टी छोडेर जानुको मुख्य कारण ‘शक्ति’ नै भएको उल्लेख गर्दै एमाले कमजोर हुँदै गए उनीहरुले ओलीको साथ पनि छोड्ने बताएका छन्।

उनले भने,माओवादी पार्टी विचार, एजेन्डा र संगठनले कमजोर बन्दै गएपछि केपी ओली प्रधानमन्त्री भएको बेलामा उनको रापताप देखेर माओवादी छाडेका थिए।

यदि ओली पनि समयक्रममा कमजोर भए भने ती नेताले एमाले छोड्छन्। जहाँ जाँदा आफूलाई सहज हुन्छ, त्यहीँ जान्छन्।

संसदीय राजनीतिमा हाबी भइरहेको प्रवृत्ति माओवादीले पनि सिकेको उनको तर्क छ। उनले थपे, सत्ता, शक्ति र निर्वाचनमा जित हात पार्न पार्टी फेरबदल गरिरहने प्रवृत्ति डरलाग्दो हुन्छ।

यस्तो छ पूर्वमाओवादीको ‘पोर्टफोलियो’

माओवादीका संस्थापक नेतामध्येका एक रामबहादुर थापा  एमाले प्रवेश गर्नेमध्ये सबैभन्दा ठूलो पद पाउने नेता हुन्।

केपी ओली नेतृत्वको सरकारमा तीन वर्ष गृहमन्त्री रहेका थापालाई एमालेले दशों महाधिवेशनबाट उपाध्यक्ष पदमा निर्वाचित गरायो। पाँचजना उपाध्यक्षमध्ये सबैभन्दा कम मत (१७८८ मत) ल्याएका थापाले घनश्याम भूसाल (७२५ मत) लाई मात्र पछि पारे।

ओलीको समूहमा गएका पूर्वमाओवादी नेतामध्ये थापा नै सबैभन्दा पहिले माओबादी अध्यक्ष पुस्पकमल दाहालको साथ छाड्ने नेता हुन्।

दाहाललाई २०६९ सालमै छाडेर मोहन वैद्यतिर लागेका उनी २०७२ को बाम एकतापछि नेकपा हुँदै पुनः दाहालसँग जोडिए।

पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र लेखराज भट्ट एमालेमा समान सचिव पदमा छन्। रायमाझी र भट्टले पनि महाधिवेशनमा अन्य एमाले नेताभन्दा कम मत प्राप्त गरेका थिए।

सचिवका नौ उम्मेद्वारमध्ये रायमाझी तेस्रोमा र भट्ट छैटौंमा परे। मणि थापा र प्रभु शाहलाई भने एमालेले स्याथी कमिटीमा राखिएको छ।

माओवादी छाडेका गौरीशंकर चौधरी र दावा तामाङ दुवै केन्द्रीय सदस्यको हैसियतमा छन्। चौधरी र तामाङ दुवैले ओली सरकारमा मन्त्री हुने अवसर पाए।

सिन्धुपाल्चोकका तामाङ प्रदशेसभामै पराजित भएका नेता भएपनि ओली खेमामा आएपछि उनलाई संघीय सरकारको युवा तथा खेलकुद मन्त्री बनाइयो। रामबहादुर थापा निकट नेता भएकाले पनि तामाङ ओलीसमूहको नजरमा पर्न सफल रहे।

पूर्वमाओवादीमध्ये जिल्लामा पकड भएका नेता मानिने एमाले सचिव टोपबहादुर रायमाझीको पनि गृहजिल्लामा प्रभाव घट्दै गएको छ।

२०६४ यता निरन्तर सांसद रहेका रायमाझीले आफूसँगै माओवादीबाट तत्कालीन राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्कालगायत नेतालाई एमालेमा लगेका थिए।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img