14.1 C
Nepal
Tuesday, December 5, 2023
spot_img
spot_img

गठबन्धनको चुनावी तालमेलमा कांँग्रेसका चार नेता असन्तुष्ट, चुनावी तालमेलको विरोध

spot_img

काठमाडौ, लामो समयको रस्साकस्सीपछि र विभिन्न चरणका वार्ताहरुपछि नेपाली कांँग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनले ३० वैशाखमा हुने स्थानीय निर्वाचनमा गर्ने भनिएको तालमेलको मोडालिटी टुंग्याएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा महानगर र उपमहानगरको भागवण्डालाई अन्तिम रुप दिन गठबन्धनका दलका शीर्ष नेताहरु जुटेका थिए, छलफल गरिरहेका थिए ।

त्यही समयमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालालगायतका नेताहरु नेवि संघले स्थापना दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा सहभागी थिए । कार्यक्रममा कोइरालानिकट अर्का नेता पनि थिए, डा.मीनेन्द्र रिजाल ।

कार्यक्रममा यी तीन नेताले गठबन्धनले चुनावी तालमेल गर्ने निर्णय गरेर कांँग्रेसलाई थप कमजोर बनाएको आशय व्यक्त गरे । डा. कोइराला, गगन थापा र डा. रिजाल तीनै जनाले गठबन्धनको चुनावी तालमेलको विरोध गरेका छन् ।

कार्यक्रममा डा.कोइरालाले आफूले केही दिनअघि नेकपा एमालेका नेता सुवास नेम्वाङसँग भेटेको कुरा मात्र सम्झिएनन्, नेम्वाङले किसुनजीको कुरा उप्काएको पनि बताए ।

अनि उनले कार्यक्रममा आफू र कांँग्रेस महामन्त्री थापाबीच गठबन्धनका कारण र अहिलेको चुनावी तालमेलका कारण कांँग्रेस भएपनि अरु चुनाव चिन्हमा मत हाल्नु पर्ने बाध्यता आइपरेको विषयमा चर्चा भएको बताएका छन् ।

यी तीन नेताले काठमाडौंमा नेवि संघको कार्यक्रममा गठबन्धनको चुनावी तालमेलको विषयमा विरोध जनाउँदै गर्दा कांँग्रेसका अर्का नेता विमलेन्द्र निधिचाहिँ कांँग्रेसको यो निर्णयले गर्दा मधेसमा कांँग्रेसको अवस्था थप कमजोर हुने बताउँदै थिए ।

मधेस प्रदेशमा त कांँग्रेसको निर्णय आएसँगै सभापति शेरबहादुर देउवाविरुद्ध चर्को नाराबाजी पनि भएको छ । गठबन्धनले ६ महानगर र ११ उपमहानगरको भागवण्डा लगाएपछि विभिन्न स्थानमा कांग्रेसका पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ ।

- Advertisement -

कास्की कांँँग्रेसले पनि पोखरा महानगर नेकपा एकीकृत समाजवादीलाई दिने निर्णय गरेको भन्दै त्यसको विरोधमा आफ्नो आवाज अझ चर्को बनाएको छ ।

उता, भरतपुरमा पनि महानगर मेयरको उम्मेदवारी माओवादी केन्द्रलाई दिने सहमती भएसँगै नेताहरुले विरोधको स्वरलाई थप चर्काएका छन् ।

एकातिर कांँग्रेसका जिल्ला तथा प्रदेशका नेता तथा कार्यकर्ताहरु यो चुनावी तालमेलको विरोधमा छन् भने अर्कोतिर कांँग्रेस नेता तथा गृहमन्त्रीसमेत रहेका बालकृष्ण खाँणले चुनावी तालमेलको निर्णयको विरोध गर्नेलाई कारवाही गर्नेसम्मको चेतावनी दिएका छन् ।

हामीले यही विषयमा कांँग्रेसका एक केन्द्रीय सदस्यलाई अब कांँग्रेसमा हुने गन्जागोलको अवस्था के होला भनेर सोधेका थियौँ ।

‘अहिले विरोधका स्वर सुनिए पनि पार्टीले गरेको निर्णयलाई स्वीकार गर्नुको विकल्प छैन,’ उनले भने, अर्को पार्टीले उम्मेदवारी पायो भन्दैमा कांँग्रेसका नेताहरुले बागी उम्मेदवारी दिने सोच्नु हुँदैन ।’

तर, यो निर्णयका कारण अहिलेको अवस्थामा कांँग्रेसका नेता तथा कार्यकर्ताहरुको मनोबल कमजोर भएको हुनसक्ने चाहिँ उनी स्वीकार गर्छन् ।

‘हो, यो निर्णय केहीलाई अप्रिय लाग्छ, कांँग्रेस भएकाले रुखलाई नै भोट हाल्न पाउनु पर्छ भन्ने पक्कै हो,’ उनले भने, तर, राजनीतिमा जीत सुनिश्चित गर्नका लागि यस्ता अभ्यास हुनसक्छन् ।’

उनले २०७४ सालमा प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेले पनि अरु दलसँग गठबन्धन गरेकाले संसदमा धेरै सिट ल्याएको स्मरण गर्दै चुनावी तालमेललाई अस्वभाविक रुपमा लिन नहुने बताए ।

‘यसले कांँग्रेसलाई कालान्तरमा केही बेफाइदा पक्कै होला किनकि कांँग्रेसले कम्युनिस्ट विचारधारा बोकेका पार्टीहरुसँग गठबन्धन गरेको छ,’ उनले भने, तर, यसकै कारण कांँग्रेसले आफूलाई कमजोर आँकेको छ भन्ने होइन ।

राजनीतिमा विशिष्ट परिस्थितिहरु हुन्छन् जसको सामना गर्दा कहिलेकाँही तल्लो तहमा अप्रिय लागे पनि यस्ता निर्णय हुनसक्छन् ।’

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img