10.7 C
Nepal
Saturday, December 3, 2022
spot_img
spot_img

चुनावमा गए पार्टी धराशायी हुन्छ, फुट्न पनि सक्छः धर्मेन्द्र बाँस्तोला (अन्तर्वार्ता)

spot_img

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको चैत ४ देखि १४ गतेसम्म कपिलवस्तुमा बसेको केन्द्रीय समितिको बैठकले स्थानीय तहको चुनावलाई बहिष्कार पनि नगर्ने र सक्रिय सहभागी पनि नबन्ने निर्णय गर्‍यो। स्वतन्त्र उम्मेदवारी भने दिन पाइने बैठकले तय गर्‍यो।

स्थानीय चुनाव आउन एक महिना बाँकी हुँदा सो पार्टीका केन्द्रीय नेताहरुले नै उम्मेदवारी दिने तयारी गरेका छन्। तर, चुनावमा जाने कि नजाने भन्ने विषयमा पार्टीमा दुई वटा धार देखिएको छ। महासचिव विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा चुनावको उपयोग गर्नुपर्ने पक्षमा छन्।
तत्काल चुनावमा जान हुँदैन भन्दै आएका नेकपाका सचिवालय सदस्य तथा अन्तर्राष्ट्रिय विभाग प्रमुख धर्मेन्द्र बाँस्तोलासँग गरेको कुराकानीः

चुनाव बहिष्कार गर्दै आएको नेकपा पनि संसदीय प्रणाली अभ्यास गर्ने अवस्थामा पुग्यो होइन त? 
त्यसरी त अहिले नबुझौँ होला। किनभने संसदीय अभ्यास गर्ने भनेर हाम्रो पार्टीले निर्णय गरेको छैन। हालै सम्पन्न केन्द्रीय समिति बैठकले संसदीय चुनावमा भाग नलिने भनेर पारित गरेको छ।

तर, स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवार उठाउने निर्णयअनुसार रोल्पा, प्युठान जिल्लामा उम्मेदवारी घोषणा नै भइसकेको छ। यो संसदीय अभ्यास होइन?

हाम्रो केन्द्रीय समितिको बैठकले पारित गरेको विषय के हो भने पार्टी दर्ता पनि नगर्ने, चुनावमा भाग पनि नलिने। अहिले हामीले विगतको जस्तो बहिष्कारभन्दा पनि चुनावको बेवास्ताजस्तो गर्ने हो। किनभने चुनावलाई भण्डाफोर त गर्नुपर्यो। चुनावलाई उपयोग नगर्ने हामीले निर्णय गरायौँ।

तर, हामीले के भन्यौँ भने अहिलेको अवस्थामा सक्रिय तवरले बहिष्कार नगर्ने भएपछि जो उम्मेदवारहरु राष्ट्रघातको विरोध गर्छन्, एमसीसीको विरोध गर्छन्, जनतन्त्र, जनजीविका, राष्ट्रियताको मुद्दाहरु उठाउँछन्, जनपक्षीय कामहरु गर्छन्, त्यस्ता उम्मेदवारहरुलाई पार्टीले समर्थन गर्ने भनिएको छ। पार्टीका केन्द्रीय समिति, जिल्ला समिति र सेक्रेटरीले पनि चुनावमा भाग नलिने भनिएको छ।

तर, समर्थकहरुले स्वतन्त्र भएर चुनावमा जान सक्ने हो। स्वतन्त्र भएर उम्मेदवारी दिने र त्यस्ता उम्मेदवारलाई पार्टीले कारबाही नगर्ने भनिएको हो। संसदीय व्यवस्थाबाट शान्ति, प्रगति केही पनि हुँदैन भन्ने हाम्रो भनाइ हो।

यहाँले केन्द्रीय सदस्यहरुले चुनावमा भाग नलिने भन्नुभयो तर, रोल्पा जिल्लाको देवगंगा गाउँपालिकामा केन्द्रीय सदस्य चुडामणि वलीले उम्मेदवारी दिने घोषणा गरिसक्नुभयो। 
यो कुरा बाहिर आएको साँचो हो, मैले पनि सुनेको छु। उम्मेदवारीका लागि ११ गतेसम्म पर्खिनुपर्छ। त्यतिन्जेलसम्म के हुन्छ, हेर्नैपर्छ। अब प्रचार त सुरु भएका छन्। कसैले प्रचार थालेको हुनसक्ने कुरा भयो। ११ गतेसम्म नोमिनेसनको कुरा छ। हाम्रो पार्टीको निर्णय चुनावमा नजाने भनेपछि केन्द्रीय सदस्य, जिल्ला सदस्य र सेक्रेटरीसहित स्थापित नेताहरु पनि नजाने भन्ने हो। स्थापित नेता नै गएपछि त विधिवत् हिसाबले पार्टी नै चुनावमा होमिएको जस्तो हुने भयो। हाम्रो पार्टीको नीति एउटा छ, अर्काेतिर काम होला भन्ने मलाई विश्वास लाग्दैन।

स्वतन्त्र उम्मेदवारी भने पनि आखिर चुनावमा जाने नै भएपछि यो मोही माग्ने ढुङ्ग्रो लुकाउने किन गर्नुभएको?
हाम्रो पार्टीले चुनावको उपयोगलाई कार्यनीतिक प्रश्न भनेर व्याख्या गरियो। पुँजीवादी सत्ताको चुनावमा भाग लिनुको तात्पर्य पुँजीवादी चुनावभित्र जानु हो। त्यसकारण त्यहाँ चुनावमा भाग लिनुहुँदैन। त्यसले पार्टी सकिन्छ। तर, यदि क्रान्तिलाई फाइदा पुग्छ भने र तयारी हुन्छ भने उपयोग गर्न सकिन्छ। अर्थात् क्रान्तिको हितको कुनै पनि काम हुन्छ भने उपयोग गर्नुपर्छ। दलाल पुँजीवादको चुनावमा गएर जनताको पक्षमा केही पनि गर्न सकिँदैन भन्ने हाम्रो निष्कर्ष हो।

हामीले चुनावलाई पटकपटक परीक्षण गरिसकेका छौँ, अब फेरि गर्न पर्दैन। त्यही भएर अहिले चुनावमा भाग लिनु सैद्धान्तिक हिसाबले गलत हुन्छ।

- Advertisement -

 

 

त्यसै कारण हो, चैत ४ देखि १४ गतेसम्म कपिलवस्तुमा बसेको केन्द्रीय समितिको बैठकमा महासचिवको चुनावलाई उपयोग गर्ने प्रस्ताव अस्वीकृत भएको? 
महासचिवले चुनावको प्रसङ्ग आयो के गर्ने भन्ने प्रस्ताव पेस गर्नुभयो। के गर्ने भनेपछि केन्द्रीय सदस्यहरुले चुनाव बहिष्कार गर्नुपर्छ भन्ने मत राख्नुभयो तर, त्यो अल्पमत र बहुमतबाट होइन। तर, अत्यधिक केन्द्रीय सदस्यहरुले चुनावमा भाग लिनु सही हुँदैन भन्नुभयो। त्यसपछि महासचिवले त्यसलाई परिमार्जन गरेर पार्टी दर्ता नगर्ने, चुनावमा भाग पनि नलिने बनाउनुभयो।

बुर्जुवा सत्ताभित्र चुनावबाट प्रवेश गर्नु भनेको त्यो देशमा भएको नियम कानुनभित्र प्रवेश गर्नु हो। त्यहाँभित्रको सत्तालाई स्वीकार गर्नु हो। सत्तालाई स्वीकार गरेपछि परिवर्तन सम्भव हुँदैन। किनभने जमाना अहिले लेनिनको समय जस्तो छैन, २०४८ सालमा हामीले चुनाव बहिष्कार गरेको जस्तो पनि छैन, जमाना २०६४ मा हामीले भाग लिएको चुनावजस्तो पनि छैन। त्यसबेला हामीले पुरानो संविधान खारेज गरेर अन्तरिम संविधान बनाएर नयाँ संविधान बनाउने चुनावमा भाग लिएका थियौँ।

केही दिनअघि तपाईंकै पार्टीका प्रवक्ताले निर्वाचन आयोग पुगेर चुनावमा भाग लिन खोजेको, कसरी मिल्छ भनेर सोध्नुभएको थियो। कोहीलाई चुनावमा जान हुटहुटी, कोही चुनावमा गए सकिन्छ भन्ने देखियो। पार्टीमा दुई धार बनेको हो?
हाम्रो पार्टीका साथीहरुको बुझाइको कुरा भयो। हामीले कसरी बुझेका छौँ अहिलेको अवस्थालाई भन्ने कुरालाई मैले पार्टी निर्णयसँग जोडेर भनेको हो। यो कुराको निरुपण छलफल बहसबाट हुन्छ। हाम्रो पार्टी छलफल र बहसमा छ।

तर, यसले पार्टीभित्र गम्भीर अवस्था ल्याइसक्यो होइन? 
कतिपय साथीहरु चुनाव त दुई महिनाका कुरा हो, ३० गतेसम्मको कुरा त हो त्यसपछि त हामी सामान्य अवस्थामा आउँछौँ भनिरहनुभएको छ। तर कुरा त्यस्तो होइन। दुई महिना, दुई दिन होइन, दुई घण्टाले पनि फरक पर्छ। चुनावको सन्दर्भमा रणनीति भनेको के हो? कार्यनीति भनेको के हो? साथीहरुको बुझाइमा समस्या आएको छ। मैले साथीहरुलाई भनेको छु, यदि हाम्रो केन्द्रीय समितिले दुई मिनेटमा मुठ्ठी उठाएर हामी चुनावमा जानको लागि तयार भयौँ भनेर निर्णय गरेका हुन्थ्यौँ भने दुई सेकेन्डमा संसारभर सम्प्रेषण भइसक्थ्यो। तर, चुनावमा जाने निर्णयले हामीले उठाएका सबै विषय अलपत्र पर्छ भन्ने कुरालाई सबै कमरेडले बुझ्नुभएको छैन।

त्यसो भए नेकपा पार्टी विभाजनको संघारमा पुगेको हो?
हाम्रो पार्टी त्यो दिशातिर नजाला भन्ने छ। किनभने कयौँ उतारचढाव बेहोरेर हामी यहाँसम्म आइपुगेका छौँ। हामी छलफल, बहस गरेर पार्टीलाई एक ढिक्का बनाउने, पार्टीलाई रुपान्तरण गर्ने, पार्टीलाई क्रान्तिको बाटोमा अगाडि बढाउने र विषयहरुका जो जटिलताहरु छन् सैद्धान्तिक, राजनीतिक, वैचारिक मुद्दाहरुलाई स्पष्ट गर्ने हाम्रो प्रयत्न हुन्छ।

केही नेताहरु जोड गरेर चुनावमा जानुपर्छ भनिरहेका छन्, तपाईंहरु बहिष्कार गर्ने भन्दै हुनुहुन्छ। मेल कसरी हुन्छ त?
फरक त हुन सक्ला। नेपाली  उखान छ नि, कुण्ड कुण्ड पानी मुण्ड मुण्ड बुद्धि। मस्तिष्क मस्तिष्कमा विभिन्न आकारको बुद्धि हुने भयो। त्यो भनेको सूचना, बुझाइको कुरा भयो। हामी विचारलाई एकरुपतामा छलफलमा लैजाने कोसिस गछौँ। त्यो बन्छ भन्ने मलाई विश्वास छ।

 

 

महासचिव विप्लवको आफ्नै चाहना के पाउनुभयो? चुनावमा जाने र आफ्नो परीक्षण गर्ने कि तपाईंहरु जस्तै क्रान्तिकारी भइरहने?
यो चिन्ता महासचिवको पनि छ। मैले जसरी चिन्ता जनाएको छु, त्यो महासचिवको पनि हो। त्यही भएर यसलाई वैज्ञानिक तवरबाट समाधान दिनुपर्छ भन्नेमा महासचिव हुनुहुन्छ, हामी पनि छौँ।

त्यो वैज्ञानिक विधि भनेको कस्तो हो?
छलफल बहस नै हो र सत्य कुरा पत्ता लगाउने अन्वेषण गर्ने कुरा हो। विधि भनेको सही कुरा, सत्य कुरा अन्वेषण गर्ने भन्ने हो।

चुनावमा जाँदा तपाईँहरुको प्रभाव क्षेत्र आजको दिन कहाँ कहाँ रहेको रिपोर्ट छ? 
कालीकोटमा केही साथी चुनावमा जाने कि भनेर छलफलमा हुनुहुन्छ। प्युठानमा पनि त्यस्तै खालको छ। देशैभर कोही पनि चुनावमा जाने पक्षमा छैनन्, एकदुई वटा जिल्लाबाहेक। अहिलेसम्म देखिएको दुई वटा जिल्ला छ। एउटा कालिकोट र अर्काे रोल्पा। त्यहाँ चुनावमा जानेगरी बहसहरु चलिरहेका छन्। तल साथीहरुको आ–आफ्ना सोचाइ पनि होलान्। रुकुम र जाजरकोटको पार्टीले नजाने भनेर स्पष्ट गरिसकेको छ। आधार क्षेत्र त देशैभर ७७ जिल्लामा छ।

चुनावमा सक्रिय सहभागी नहुने, बहिष्कार पनि नगर्ने यो नीतिले पार्टीलाई कहाँ पुर्‍याउँछ? 
यसले पार्टीलाई रुपान्तरण गर्छ र अग्रगमनतिर लैजान्छ। निर्वाचनमा जाने बेला भएको छैन। त्यसले पार्टीलाई धराशयी पार्छ।

नेकपा विभाजनको बाटोतिर जाने खतरा देख्नुहुन्न?
त्यो त हाम्रो छलफल, बहसद्वारा हाम्रोबीचमा रहेको दुरी कम गर्यो भने त्यतातिर जाँदैन। दुरी भयो भने त त्यसलाई इन्कार गर्न मिलेन। खाडलहरु पुर्यौँ भने विभाजित गर्नुपर्ने ठाउँ रहँदैन। तर हामीले स्वतन्त्रबाट उम्मेदवारी दिने विकल्प खुला राखेका छौँ। केही साथीहरु चुनाव लड्न सक्नुहुन्छ।

एकीकृत जनक्रान्तिको असफल प्रयासदेखि शान्तिपूर्ण राजनीति हुँदै अहिले स्थानीय चुनावसम्मको अवस्थासम्म पुग्दा नेकपाको पाइला लरखराएको जस्तो लाग्दैन? 
त्यस्तो होइन। विगतमा हाम्रो पार्टीमाथि प्रतिबन्ध थोपरियो अनि हामीले केपी ओली नेतृत्वको सरकारसँग पटक–पटक वार्ता गरेर तीन बुँदे सहमति गरी शान्तिपूर्ण राजनीतिमा आएका हौँ। हामीलाई लगाइएको प्रतिबन्धले समाधान गर्दैन भनेकै हो। सरकार पनि त्यसमा सहमत भयो, अहिले त सरकार र हामी सँगसँगै छौँ।

यो लरखराएको होइन। सरकारले त नेपालमा राजनीतिक समस्या छैन भनेकै थियो नि। हामीले समस्या छ भन्यौँ, नेपालको समस्या समाधान गर्न सरकार सहमत छ भन्ने कुरामा आउनु नै उपलब्धि हो। यसमा हाम्रो कदम अहिलेसम्म बिग्रेको छैन। हो क्रान्तिमा हामीले गरेका केही कुरा पुरा भएन। हामीलाई के विश्वास छ भने वैज्ञानिक समाजवादी क्रान्ति सफल हुन्छ। समस्याले क्रान्तिको माग गर्छ। एक पटक क्रान्तिको माग गर्छ।

कम्युनिस्टहरुबीच एकीकरणको कुरा चलेको थियो? अहिले रोकियो कि जारी छ? 
हामीले उद्देश्य पुरा गर्नेगरी एकता चाहेका छौँ। विगतको पार्टीहरुको एकताले अहिले अर्थ राख्दैन। एमाले, माओवादी एकताले केही अर्थ दिँदैन। अहिले हामीले भनेको के हो भने– बृहत् कम्युनिस्ट एकता।

नेपालमा ७० प्रतिशत मतदाताहरु कम्युनिस्ट छन्। एकता भएपछि त्यो भोट समाजवादका निम्ति जान्छ। यो व्यवस्थाबाट त समाजवाद स्थापना हुन सक्दैन, समाजवाद स्थापना गर्नको निम्ति त्यो भोट केन्द्रित हुने एकता बनोस् भन्ने चाहन्छौँ र त्यसैलाई बृहत् कम्युनिस्ट एकता भनेका छौँ।

 

 

पछिल्ला दिन पनि छलफल भइरहेको छ?
कुराकानी त सबैसँग भइरहेको छ। सार्वजनिक रुपमा चलाइरहेका छौँ। मैले नै दुईतीन पटक प्रचण्डसँग पनि छलफल गरेँ।

तपाईंको पार्टी प्रवक्ता नेकपा एमालेसँग नजिक हुनुहुन्छ भन्ने चर्चा छ नि?
त्यसरी त जानकारी भएन तर, चुनावमा पार्टी दर्ता गर्नुपर्छ, भाग लिनुपर्छ भन्ने उहाँको जोड छ। उहाँले गतिविधि पनि त्यहीअनुसार गर्नुभएको देखियो। यदि चुनावमै जानु छ भने जोसँग मिल्दा अलि बढी जितिन्छ, त्यहीसँग जाने कुरा नै सही हुन्छ। प्रकाण्ड हाम्रो पार्टीको प्रवक्ता हो। जिम्मेवार नेता हो, उहाँले पार्टीको नीतिभन्दा बाहिर जानुहोला जस्तो लाग्दैन। तर, लचक चाहिँ हुनुहुन्छ।

सचिवालयमा रहेकामध्ये चुनावमा जानुपर्छ भन्ने पक्षमा महासचिव र प्रवक्ता मात्र हुनुहुन्छ भन्ने कुरा साँचो हो? 
हो। चुनाव उपयोग गर्दा केही हुन्न भन्ने बुझाइ उहाँहरुमा छ। हामीले बेठिक हुन्छ भनेको पनि बुझाइकै कुरा हो।

सत्य कुरा के हो भने जनताको भावनामा के पर्छ, हामीले त्यसलाई हेर्नुपर्छ। चुनावमा गयो भने एमाले, माओवादी कांग्रेस, राप्रपा, जसपा, जनमोर्चा र हाम्रो पार्टी एउटै हो भन्ने बुझ्छन् जनताले। चुनावमा जानेबित्तिकै संसदीय व्यवस्थाभित्र प्रवेश हुन्छ।

हामीले के भन्छौँ, के लेख्छौँ भन्ने कुराको कुनै अर्थ हुँदैन। हामीले के गर्छौं भन्ने हो। चुनावमा गएपछि हामी संसदीय घेराभित्र हुन्छौँ। कतिपय कमरेडले त्यो त कसैले देख्दा पनि देख्दैन, कसैले बुझ्दा पनि बुझ्दैन, हामी जाने हो निस्कने हो भन्ने हिसाबले सोचेको पनि हुनसक्छ। तर, हाम्रो पार्टीको केन्द्रीय समितिको बैठकले त्यसलाई पार गरेको छ।

चुनावमा भाग नलिने भनेपछि पार्टीको लाइन पनि बचेको छ, कार्यदिशा पनि बचेको छ, पार्टीको प्रतिष्ठा पनि बचेको छ। हामीलाई टेक्ने ठाउँ छ, परपर पुगे पनि समाउने रस्सी छ हामीसँग। हाम्रो टेक्ने ठाउँ बन्यो। समात्ने हाँगो पनि छ। हाम्रो पार्टी चुनावमा फसे पनि डोरी बाँधेर गएको छ, दुर्घटना हुने सम्भावना कम छ।

नेपालखबर

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img