जुम्ला, जुम्लामा आगलागी हुँदा चार जनाको मृत्यु भएको छ । जिल्लाको तिला गाउँपालिका–३ सार्कीबाडामा आगलागी हुँदा एकै घरका तीनसहित चार जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा १४ वर्षीया तिर्सना सार्की, ११ वर्षीया अनु सार्की, तीन वर्षीया दर्शना सार्की र एक वर्षीय दिपेश सार्की रहेका छन् ।
मृत्यु हुनेमा तीन जना मानसिंहका छोराछोरी हुन् । १४ वर्षीया तिर्सना भने मानसिंह सार्कीकी भान्जी हुन् । आगलागी गएराति साढे ११ बजे भएको हो । मृतक सबैलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ल्याइएको छ ।
आगलागी कसरी भयो भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डिएसपी नरेन्द्र चन्दले जानकारी दिए । आगलागीले तीनतले घरको दुई तला पूर्ण रूपमा नष्ट भएको प्रहरीले जनाएको छ ।