दमक। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले हिन्दुहरुको महान चाड तिजले राष्ट्रवादी शक्तिहरुको विजय हुने सन्देश लिएर आएको बताएका छन् ।
प्रजातान्त्रिक महिला संगठन झापा जिल्ला समितिद्वारा आज दमकको पशुपति मन्दिरमा आयोजित तिज विषेश कार्यक्रम तथा प्रजातान्त्रिक महिला संगठनको झापा जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् ।
उनले यस पटकको तिज पर्वले परिवर्तनको सन्देश लिएर आएको बताए। परिवर्तन हाम्रै पालोमा सम्भव छ भन्दै आगामी मंसिर ४ गते नेपाली जनताले परिवर्तनकारी शक्तिहरुलाई विजयी गराउने विश्वास व्यक्त गरे ।
मंसिर ४ को निर्वाचन पछी भ्रस्टाचारीहरु सबै पाखा लाग्ने समेत उनले दोहोर्याए। अब भ्रष्ट चरीत्र भएका व्यक्तिहरुको अन्त्यको दिन आएको भन्दै उनले परिवर्तनको पक्षमा मतदान गर्न सम्पूर्ण नेपालीहरुमा आव्हान समेत गरे।
उनले महिलाहरु देशको परिवर्तनकारी शक्ति भएको उल्लेख गर्दै सनातन देखि चलिआएको तिज पर्वले नेपाली समाजमा छुट्टै छाप छोड्न सफल भएको उल्लेख गरे ।
हरेक धर्मका आ–आफ्नै बिशेषता रहेको उल्लेख गर्दै धार्मिक मूल्य र मान्यताको जग बलियो भएमात्र समाज बलियो हुने भन्दै हिन्दुहरुको महान चाड तिज पर्वले समग्र महिलाहरुलाई एकताको सुत्रमा बाध्न सफल भएको बताए।
अध्यक्ष लिङ्देनले आगामी निर्वाचनमा राप्रपालाई बलियो शक्तिको रूपमा उदाउने र पार्टीलाई सफलता दिलाउनको लागि महिलाहरुले उल्लेखनीय भुमिका खेल्न सक्नुपर्ने बताए।
उक्त अवसरमा दर खाएर नाचगान गर्दै हर्सोल्लासका साथ तिज पर्व मनाइएको उक्त कार्यक्रममा महिला नेत्री सारदा रिजालको अध्यक्षतामा झापा जिल्ला कार्य समिति घोषणा गरिएको छ ।