14.1 C
Nepal
Tuesday, December 5, 2023
spot_img
spot_img

थम्पसन बने नेपालका लागि नयाँ अमेरिकी राजदूत

spot_img

एजेन्सी, अमेरिकाले नेपालका लागि नयाँ राजदूतमा रक्षा मामिलामा पोख्त बिदेश मन्त्रालयका बरिष्ठ कुटनीतिज्ञ डिन थम्पसनलाई पठाउने भएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले बिदेश मन्त्रालयमा हाल दक्षिण एसिया तथा मध्य एसिया मामिला हेर्ने प्रिन्सिपल डेपुटी असिस्टेन्ट सेक्रेटरी डिन थम्पसनलाई नेपालका लागि नयाँ राजदूतमा मनोनयन गर्ने घोषणा गरेको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ।

उनी सेप्टेम्बर १५, २०२१ यता अमेरिकी बिदेश मन्त्रालयमा प्रिन्सिपल डेपुटी असिस्टेन्ट सेक्रेटरीको पदमा कार्यरत थिए। उनको औपचारिक नियुक्त प्रकृया पुरा हुन केही महिना लाग्नेछ।

थप्पसन अमेरिकाको दक्षिण तथा मध्य एसिया नीति निर्माण तथा कार्यान्वयनमा संलग्न अधिकारी हुन्। चीनसँग नेपाल मामिलालाई लिएर तनाव सिर्जना भएका बेला अमेरिकाले आफ्ना बरिष्ठ कुटनीतिज्ञ नेपाल पठाउन लागेको हो।

खासगरी अमेरिकी सहयोग परियोजना एमसीसीलाई लिएर वासिङ्टन र बेइजिङबीच सार्वजनिक रुपमा भनाबैरी भएको एक महिनापछि अमेरिकी बरिष्ठ कुटनीतिज्ञ नेपालका लागि राजदूतमा प्रस्तावित भएका हुन्।

त्यसबेला अमेरिकाले एमसीसी संसदबाट अनुमोदनमा ढिलाईमा चीनको भूमिका रहेको आशंका सार्वजनिक रुपमै व्यक्त गरिदियो। जवाफमा चीनले अमेरिकालाई नेपालमाथि अनुदान दिने नाममा कुटनीतिक बलमिच्याईँ नगर्न चेतावनी दियो।

नेपाल मामिलालाई लिएर अमेरिका र चीन आमनेसामने भएपछि त्यो भूराजनीतिक द्वन्द्वको प्रभाव नेपालमा पर्यो। हालै नेपाल भ्रमणमा आएका चिनियाँ बिदेशमन्त्री वाङ यीले समेत नेपाललाई कुनै पनि भूराजनीतिक खेलमा तान्ने प्रयास नगर्न बाह्य शक्तिलाई आग्रह गरे।

उनको स्पस्ट संकेत अमेरिका तिरै लक्षित थियो। माओवादी अध्यक्ष पुष्पकमल दाहालसँगको भेटमा चिनियाँ बिदेशमन्त्रीले चीन वरिपरिका देशमा अमेरिकाले हिन्द प्रशान्त रणनीति मार्फत् चीनलाई घेर्न खोजेको बताएको भेटमा सहभागी एक माओवादी नेताले बताएका थिए।

- Advertisement -

आर्थिक रुपमा उदाउँदो चीनसँग युक्रेन, अफगानिस्तान, ताइवानदेखि कोरियन प्रायद्विपका सवालमा अमेरिकाको भूराजनीतिक प्रतिस्पर्धा छ।

चीनले पनि अमेरिकाको प्रभाव रहेका मुलुकसँग सम्बन्ध विस्तार गरिरहेको छ अफ्रिकादेखि क्यारिबयन क्षेत्रसम्म। दक्षिण एसियाका भारत र अरु मुलुकमा पनि चीन र अमेरिकाबीच प्रतिस्पर्धा उस्तै छ।

यसबीच अमेरिकाले हिन्द प्रशान्त क्षेत्रमा आफ्नो रणनीति अझ शशक्त बनाउँदैछ। जसको उद्देश्य चीनको प्रभाव कम गर्न प्रयास गर्नु हो।

मंगलबार मात्रै अमेरिकी राष्ट्रपति बाइडेनले १.८ बिलियन अमेरिकी डलर हिन्द प्रशान्त क्षेत्रमा खर्च गर्ने प्रस्ताव अमेरिकी संसदमा पेश गरेका छन्।

त्यसको मुख्य उद्देश्य चीनको प्रभाव हिन्द प्रशान्त क्षेत्रमा रोक्नु रहेको ह्वाइट हाउसले जनाएको छ।​

को हुन् थम्पसन ?

नेपालस्थित अमेरिकी नियोगमा काम नगरेपनि उनीसँग दक्षिण एसिया क्षेत्रका भारत, बंगलादेश र श्रीलंकास्थित अमेरिकी नियोगहरूमा काम गरेको अनुभव छ।

अमेरिकी बिदेश मन्त्रालयका अनुसार उनले सन् २०११ देखि २०१५ सम्म नेपालसँग सीमा जोडिएको भारतको पश्चिम बंगाल राज्यको कलकत्तास्थित अमेरिकी महावाणिज्यदूतका रुपमा काम गरेका थिए।

थम्पसन २५ बर्षयता अमेरिकी बिदेश सेवामा कार्यरत छन्, जो पछिल्लोपटक अमेरिकाको मलेसियास्थित दूतावासमा उपनियोग प्रमुख थिए। थम्पसनले अमेरिकाको पाराग्वे र रोमानियास्थित दूतावासमा पनि काम गरे।

वासिङ्टनमा रहँदा उनले अमेरिकी बिदेशमन्त्रीको प्रत्यक्ष सम्पर्कमा रही बिभिन्न कार्यदलको नेतृत्व गरिसकेको बिदेश मन्त्रालयले जनाएको छ।

रणनीतिक मामिलाका विज्ञ

प्रस्तावित राजदूत थम्पसन सुरक्षा मामिलामा समेत पोख्त छन्। उनको शैक्षिक र कार्यानुभव रक्षा मामिलामा समेत देखिन्छ।

बिदेश सेवामा आउनुअघि उनी अमेरिकी रक्षा मन्त्रालयमा थिए। प्रस्तावित राजदूत थम्पसनले अमेरिकाको नेसनल वार कलेजबाट नेसनल सेक्युरिटी स्टडिजमा स्नातकोत्तर गरेका छन्।

त्यसैगरी अमेरिकाको मेरिल्याण्ड विश्वविद्यालयको पब्लिक अफेयर्स स्कूलबाट पब्लिक म्यानेजमेन्टमा स्नातकोत्तर गरेका छन्।

थम्पसनले हालका राजदूत रेन्डी बेरीलाई प्रतिस्थापित गर्नेछन्। नयाँ राजदूत थम्पसनको नाम अब अमेरिकी संसदबाट अनुमोदित हुनुपर्नेछ। अक्टोबर १५, २०१८ यता बेरी नेपालमा राजदूत थिए। एमसीसी सम्झौता पास गराउन उनले विशेष पहलकदमी लिए।

अमेरिकाले खासगरी चीनको बढ्दो प्रभाव रोक्न नेपालमा नयाँ राजदूतमा बरिष्ठ कुटनीतिज्ञ खटाउन लागेको हुनसक्ने अमेरिका मामिला हेरिरहेका एक सरकारी अधिकारीले बताए।

नेपालसँगको सम्बन्धलाई नयाँ ढंगले अघि बढाउने बाइडेन प्रशासनको तयारी रहेको उनले बताए। अमेरिकाले अन्य मुलुकसँगको सम्बन्धलाई अलाइज, पाटनर्स र फ्रेन्डस गरी तीन तहमा वर्गीकरण गरेको छ।

‘अहिलेसम्म नेपाललाई अमेरिकाले फ्रेन्डसको सूचीमा राखेको जस्तो लाग्छ। अब उनीहरुले पार्टनरमा उकाल्न कोशिश गर्न सक्छन्। जुन हाम्रा लागि चुनौतिपूर्ण हुनसक्छ, खासगरी चीनको छिमेकमा भएका कारण’, ती अधिकारीले थपे।

उनका अनुसार अप्रिल तेस्रो सातासम्म अमेरिकी सांसदको टोली नेपाल आउँदैछ। त्यसैगरी अमेरिकाबाट उच्च तहको भ्रमणको कोशिश पनि भइरहेको छ।

‘अमेरिकी उपराष्ट्रपति कमला ह्यारिश वा बिदेशमन्त्री एन्टोनी ब्लिकन नै नेपाल आउनेजस्तो छ। तर, अहिले नै निश्चित भइसकेको छैन,’ ती अधिकारीले भने।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img