काठमाडौं– पाकिस्तानी राष्ट्रपति आरिफ अल्वीले नवनियुक्त प्रधानमन्त्री शहबाज शरीफलाई शपथग्रहण नगराउने भएका छन्।
सोमबार साँझ शहबाजलाई राष्ट्रपति अल्वीले शपथ खुवाउने कार्यक्रम तय भएको थियो। तर, शपथ खुवाउने अन्तिम समयमा राष्ट्रपति अल्वी अस्वाथ्य रहेको भन्दै कार्यक्रम अनुपस्थित भएका हुन्।
राष्ट्रपति अल्वीको कार्यालयले सामाजिक सञ्जालमार्फत् उनको स्वास्थ्य राम्रो नरहेको जानकारी दिएको छ। राष्ट्रपति अल्वीलाई चिकित्सकले जाँच गरी केही दिन आराम गर्न सल्लाह दिएका छन्,’ कार्यालयले भनेको छ।
यद्यपि, राष्ट्रपति अल्वीको अनुपस्थितिमा पाकिस्तानी सिनेटका अध्यक्ष सादिक सन्जरानीले शाहबाजलाई पद तथा गोपनियताको शपथ गराउने छन्।
शहबाज पूर्वप्रधानमन्त्री नवाज शरीफका भाइ हुन्। उनी पाकिस्तानको राष्ट्रियसभामा १७४ सांसद्को समर्थनबाट प्रधानमन्त्री चुनिएका हुन्। प्रधानमन्त्री पदका लागि शाहबाज पाकिस्तानको संसदमा विपक्षीको साझा उम्मेदवार बनेका थिए।
संसदमा सोमबार भएको मतदानबाट उनी प्रधानमन्त्री बनेका हुन्। संसदमा अविश्वासको प्रस्तावबाट इमरान खान सत्ताच्यूत भएपछि उनी पाकिस्तानको २३औं प्रधानमन्त्री निर्वाचित भएका हुन्।
सोमबार संसदको बैठक सुरु हुनुअघि इमरान खानको पार्टी पीटीआईका सांसद्हरुले सामूहिक राजीनामा दिएका थिए। इमरानले आफूलाई विदेशी शक्तिको षड्यन्त्रमार्फत सत्ताबाट हटाइएको बताउँदै आएका छन्।
यसअघि आफूविरुद्ध अविश्वास प्रस्ताव पेस भएपछि इमरानले राष्ट्रपति अल्वीलाई संसद भंग गर्न सिफारिस गरेका थिए। इमरानको उक्त सिफारिसमा राष्ट्रपति अल्वीले संविधानको अनुच्छेद ५८ (१) र ४८ (१)लाई टेकेर संसद भंग गरेका थिए।
तर, पाकिस्तानको सर्वोच्च अदालतले गत बिहीबार संसद विघटन बदर गरिदिएको थियो। त्यसपछि शनिबार राति राष्ट्रियसभामा इमरानविरुद्धको अविश्वासको प्रस्ताव पारित भएको थियो।
प्रस्तावको पक्षमा १७४ सदस्यले मतदान गरेका थिए। उनी आइतबार सत्ताच्यूत भएका हुन्। नवनियुक्त प्रधानमन्त्री शहबाजले सन् २०२३ को अक्टोबरसम्म देशको नेतृत्व गर्ने छन्। त्यसपछि नयाँ चुनाव हुनेछ।