काठमाडौ, सत्तारूढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आसन्न स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले ठूलो सफलता प्राप्त गर्ने दावी गरेका छन् ।
सोमबार रामेछाप जिल्लाबाट विभिन्न पार्टी परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गर्नेहरूलाई काठमाडौंमा स्वागत गर्दै अध्यक्ष नेपालले आसन्न स्थानीय तह निर्वाचनमा अन्य पार्टीहरूसँग तालमेल गरी ठूलो सफलता हात पार्ने बताएका हुन् ।
पार्टीले आगामी चुनावमा केन्द्रित भएर टोल-टोलमा संगठन विस्तार र परिचालनमा लागेको पनि उनले बताए ।
अध्यक्ष नेपालले भने, ‘हामी आगामी चुनावको तयारीलाई फोकस गरेर, केन्द्रबिन्दुमा राखेर त्यसको निम्ति प्रत्येक पालिका-पालिकामा राम्रो तयारीको काममा जुट्दै, कमिटी बनाउँदै, वडा, टोलटोलमा पनि पार्टीको कमिटीहरूको बिस्तार गर्दै चुनावसम्बन्धी परिचालन कमिटी पनि हामी बनाउँदै जानेछौं ।
र जोजोसँग हाम्रो तालमेल मिल्नेछ, तालमेल मिलेर हामी चुनावमा अत्यधिक ठूलो सफलता हासिल गर्ने विश्वासका साथ जुटिरहेका छौं ।’
यसैबीच, नेकपा (एकीकृत समाजवादी) को सोमबार पोलिटब्युरोको प्रथम बैठक काठमाडौंस्थित एक ब्याङ्क्वेटमा सुरु भएको छ ।
पोलिटब्युरो बैठकमा अध्यक्ष नेपालले समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्ययोजनासहितको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेको पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
प्रवक्ता खतिवडाले कार्यकर्ताहरूलाई एकतावद्ध बनाएर आसन्न स्थानीय तहको निर्वाचनमा परिचालन गर्नु नै पार्टीको अहिलेको मुख्य काम भएको बताए ।