काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले काठमाडौं–दिल्लीमा हरेक दिन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)का जहाजमार्फत् दुई वटा उडान गरिने बताएका छन्।
काठमाडौंमा बुधबार भएको एक कार्यक्रममा मन्त्री आलेले दिल्लीमा हरेक दिन दुई वटा उडान गर्न लागिएको बताए।
थाईल्याण्डको बैंककमा हप्तामा दुई वटा र साउदी अरेबियाको रियादमा हप्तामा तीन वटा उडान भर्ने गरी प्रक्रिया अगाडि बढेको पनि मन्त्री आलेले जानकारी दिए।
मन्त्री आलेले चैत ७ गतेदेखि मुम्बईमा हप्ताको ३ वटा र चैत ११ गतेदेखि बेङ्लोरमा पनि हप्तामा ३ वटा उडान भरिएको बताए।
आफूले मन्त्रालय सम्हालेदेखि ग्राउन्डेड भएर बसेका जहाजहरुलाई अधिकतम समय आकाशमा उडाउने काम भएको मन्त्री आलेको दाबी छ।
म मन्त्री हुनुभन्दा पहिले घाम तापेर बसेका जहाजलाई अहिले आकाशमा उडाउने काम गरको छु, नागरिकलाई सेवा दिनु मेरो कर्तव्य हो, मन्त्री आलेले भने।
पहिले चारदेखि पाँच घण्टा उडान भर्ने नेपाल वायुसेवा निगमका जहाजले अहिले १० देखि १३ घण्टासम्म उडान भर्ने गरेको मन्त्री आलेले दाबी गरे।