काठमाडौं– नेपाल बार एसोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे निर्वाचित भएका छन्।
सत्ता गठबन्धनमा आबद्ध दलहरू निकट कानून व्यवसायीहरूको संयुक्त प्यानलबाट उम्मेदवारी दिएका घिमिरेले करिब दुई हजार मतान्तरसहित बारको अध्यक्षमा निर्वाचित भएका हुन्।
घिमिरे नेपाली कांँग्रेस निकट डेमोक्रेटिक लयर्स एसोसिएसनका पूर्वअध्यक्ष हुन्। उनले कांँग्रेसको १४ औं महाधिवेशनको केन्द्रीय निर्वाचन समितिका संयोजक थिए।
घिमिरेले ४ हजार ४७४ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारीले २ हजार ४८२ मत पाएका छन्।
त्यस्तै, वरिष्ठ अधिवक्ता अमिता लक्ष्मी सैंजु श्रेष्ठ १२३, अधिवक्ता पृथ्वीनाथ राई १४२, अधिवक्ता अनिता जधारी ७३, अधिवक्ता उत्तमबहादुर श्रेष्ठ ३७, अधिवक्ता कमलप्रसाद मलेगो २८ र अधिवक्ता उद्धवचन्द्र घिमिरेले ४५ मत प्राप्त गरेका छन्।
चैत १९ गते काठमाडौंसहित देशभर ३५ स्थानबाट मतदान भएको थियो। बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्यहरू गरी २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा ९ हजार ७०८ जना अधिवक्ता मतदाता थिए। त्यसमध्ये सात हजार ४२९ मत खसेको थियो।