20.7 C
Nepal
Saturday, December 9, 2023
spot_img
spot_img

पल शाहलाई तनहुँबाट गैँडाकोट लगियो

spot_img

तनहूँ– जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा रहेका कलाकार पल शाहलाई थप अनुसन्धानका लागि पूर्वी नवलपरासीको गैँडाकोट लगिएको छ।

नौ दिनदेखि प्रहरी हिरासतमा रहेका शाहलाई आज बिहान प्रहरीले गैँडाकोट लगेको हो। गैँडाकोट प्रहरी प्रमुख इन्स्पेक्टर लक्ष्मी पाण्डेका अनुसार पीडितको जाहेरीअनुसार गैँडाकोट रिसोर्टमा भएको घटनामाथि अनुसन्धान गर्न पललाई त्यहाँ ल्याइएको हो।

यहाँ पनि अभियुक्तसँग बयान लिनेछौं। यहाँको अनुसन्धान सकिएपछि फेरि तनहुँ प्रहरीलाई नै बुझाउनेछौं,’ उनले भनिन्। पीडितका बुबाले सुरुमा तनहुँ प्रहरी उजुरी दिएका थिए। सोही उजुरीका आधारमा पलमाथि छानबिन अघि बढेको हो।

उजुरी परेपछि फरार भएका पल चार दिनपछि आफैं प्रहरीसमक्ष गएका थिए। उनले आत्मसमर्पण गरेकै दिन पीडित परिवारले गैँडाकोटमा पनि उनीविरुद्ध बलात्कारको उजुरी दिएको थियो।

पलको घर दाङ र पीडित किशोरीको घर कास्की हो। तर, पीडित पहिले जाहेरी लिएर तनहुँ पुगेको थियो। कारण, पीडितको आरोपअनुसार पलले अन्तिम पटक यौन शोषण गरेको स्थल तनहुँ जिल्लाको दुलेगौँडा भन्ने स्थानमा हो। त्यसैले कास्की प्रहरीले घटना तनहुँ प्रहरीको क्षेत्राधिकारभित्र परेको भन्दै त्यता जान सुझाएको थियो।

अब जिज्ञासा हुनसक्छ, तनहुँ प्रहरीले पललाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेकै दिन पीडित किन गैँडाकोट पुग्नुपर्यो ? १७ बर्षीया नाबालिगको आरोपअनुसार पलले उनीमाथि पटकपटक विभिन्न प्रलोभन देखाउँदै शारीरिक सम्बन्ध राखेका थिए। जसमध्ये एउटा प्रमुख स्थल हो– गैँडाकोट।

पीडितले प्रहरीसमक्ष दिएको जाहेरीमा आफूमाथि पलले ०७७ चैत ७ गते गैँडाकोट रिसोर्टमा पटकपटक जबर्जस्ती करणी गरेको आरोप छ। त्यहाँ उनीहरु गीतको सुटिङका लागि पुगेका थिए, त्यो पनि एक दिनका लागि मात्रै।

तर, पलले सुटिङ पाँच दिनसम्म लम्ब्याइ जबर्जस्ती करणी गरेको आरोप पीडितले लगाएका छन्। ‘मेरो छोरीलाई एक दिनका लागि भनेर सुटिङमा लगिएको थियो,’ पीडितका बुबाले दिएको जाहेरीमा भनिएको छ, तर, एक दिनमा सुटिङ नसकेर भोलिपल्ट सुटिङ गर्ने भनी मेरो छोरीलाई सुटिङका लागि तयार गराइयो।

- Advertisement -

त्यसपछि सुटिङ क्यान्सिल गरी पाँच दिनसम्म राखेर मेरो छोरी सुतेको कोठामा मादक पदार्थ ल्याई छोरीलाई जबर्जस्ती मादक पदार्थ पिलाएर पटक पटक करणी गरियो।’

मुलुकी अपराध संहिता २०७४ को दफा २१९ अनुसार १८ वर्ष नपुगेकी बालिकालाई सहमतिमा पनि यौन सम्पर्क गर्न मिल्दैन। यसरी यौन क्रियाकलाप गरेको देखिएमा जबर्जस्ती करणी मानिने व्यवस्था छ।

दफा २१९ ९२० मा भनिएको छ, ’कसैले कुनै महिलालाई निजको मन्जुरी नलिई करणी गरेमा वा मन्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै पनि बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जवर्जस्ती करणी गरेको मानिन्छ।’

प्रहरीले अनुसन्धान सकाएर अदालतमा मुद्दा दर्ता गरेपछि हुने फैसलाले नै न्यायको बाटो तय हुनेछ। अदालतमा कसुर गरेको पुष्टि भए उनीमाथि १० देखि १२ वर्षसम्म जेल सजाय हुने अधिवक्ता अरुण पौड्यालले बताए।

जाहेरीमा के छ ?

पीडित परिवारले बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा दिएको जाहेरीमा विगत तीन महिनादेखि छोरीले काममा मन नलगाएर एकोहोरो बस्न थालेपछि त्यसको कारण खोतल्दै जाँदा पल शाहले देखावटी मायाप्रेमको बहाना गर्दै जबर्जस्ती करणी गरेको आरोप छ।

पलले ती नाबालिग गायिकासँग विभिन्न गीतको सुटिङ गर्ने क्रममा पोखरा, चितवन, बागलुङ, तनहुँ समेतका स्थानमा सुटिङ सकिएपछि राति होटलमा बास बस्ने क्रममा पटकपटक जबरजस्ती करणी गर्न खोजेको आरोप पनि जाहेरीमा उल्लेख छ।

पीडितका बुबाले दिएको जाहेरीमा पलले ०७७ चैत ३१ गते बागलुङको गलकोट महोत्सव जाने/आउने क्रममा ती नाबालिगमाथि गाडीमा सँगै बसेर यात्रा गर्ने क्रममा संवेदनशील अंग चलाउने, जिस्काउने, समात्नेजस्ता कार्य गरेको समेत उल्लेख छ।

जाहेरीमा उल्लेख भएअनुसार त्यतिबेला उक्त यात्रामा पलसँगै कलाकारहरु दुर्गेश थापा, योगेश काजी, सम्राट चौलागाई, कृष्ण जोशी पनि थिए।

त्यसपछि गत वैशाख १४ गते पोखराको एक घरमा रहेका बेला पलले मदिराको तालमा ती नाबालिग बसेको कोठामा गएर ललाईफकाइ ‘बिहे गर्छु, धोका दिन्न’ भन्ने विश्वास दिलाइ असहमति हुँदाहुँदै जबर्जस्ती करणी गरेको आरोप पनि जाहेरीमा लगाइएको छ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img