काठमाडौ, नेपाल भ्रमणमा रहेको फ्रान्सेली सांसदको एक प्रतिनिधिमण्डलले मंगलबार परराष्ट्रमन्त्री डा.नारायण खड्कासँग भेटवार्ता गरेको छ।
फ्रान्स-नेपाल संसदीय मैत्री समूहका सभापति भेरोनिक रायोट्टनको नेतृत्वमा नेपाल आएको तीन सदस्यीय प्रतिनिधिमण्डलले मन्त्री खड्कासँग शिष्टाचार भेट गरेको हो।
परराष्ट्र मन्त्रालय सिंहदरबारमा भएको भेटमा नेपाल(फ्रान्स सम्बन्ध, सहकार्य र बहुपक्षीय हितका साझा मुद्दामा कुराकानी भएको मन्त्रालयले जनाएको छ। फ्रान्सेली सांसदको टोली मंगलबारै नेपालको औपचारिक भ्रमणमा आएको हो।
काठमाडौंस्थित फ्रान्सेली दूतावासका अनुसार पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका नेपाल-फ्रान्स अन्तर संसदीय समूहका अध्यक्ष माधवकुमार नेपालको निमन्त्रणामा फ्रान्सको संसदीय टोली नेपाल आएको हो।
प्रतिनिधिमण्डलमा फ्रान्स(नेपाल संसदीय मैत्री समूहका उपाध्यक्षद्वय निकोलस फरिसियर र ग्रेजिलिया मेल्सियर सहभागी छन्।
औपचारिक भ्रमणका क्रममा फ्रान्सेली सांसदहरुले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेर बहादुर देउवा, सभामुख अग्नि सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी ओली र ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग भेटवार्ता गर्नेछन्।
नेपालको निजी क्षेत्र र थिंक ट्यांकसँग पनि फ्रान्सेली सांसदले अन्तर्क्रिया गर्ने भएका छन्। नेपाल र फ्रान्सबीचको द्विपक्षीय सम्बन्ध विस्तार गर्ने उद्देश्यले भ्रमण हुनलागेको फ्रान्सेली दूतावासले जनाएको छ।