काठमाडौ, तराई मधेस केन्द्रित र राजतन्त्रवादी शक्तिले अघिल्लो निर्वाचनमा विजय हासिल गरेका महानगर र उपमहानगरमा पाँच दलीय गठबन्धनको प्रमुख राजनीतिक दल नेपाली कांँग्रेसले मेयर र उपमेयर पाउनु पर्ने दाबी प्रस्तुत गरिरहेको छ ।
पाँच दलीय गठबन्धनमा महानगर र उपमहानगरको भागबन्डा केन्द्रबाट गर्ने निर्णय भइरहेको बेला तराई मधेस केन्द्रित राजनीतिक दल र राजतन्त्रवादी शक्तिले विजयी हासिल गरेका स्थानमा कांँग्रेसले दाबी प्रस्तुत गरिरहेको हो ।
राजतन्त्रवादी शक्ति तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले विजयी हासिल गरेको बाँकेस्थित नेपालगञ्ज महानगरपालिकामा नेपाली कांँग्रेसले दावी नछाडेपछि जनता समाजवादी पार्टी (जसपा नेपाल) गठबन्धनबाट नै बाहिरिएको छ ।
जसपा नेपाल जिल्ला अध्यक्ष कमरुद्धिन राईले जसपालाई नेपालगञ्ज छाड्न कांँग्रेसले नमान्दा गठबन्धनबाट बाहिरिनु परेको जनाएका छन् ।
उनका अनुसार नेपालगञ्जमा अब जसपा नेपालले एक्लै निर्वाचन लड्नेछ । राप्रपाबाट विजयी मेयर धवलशमशेर राणाले पुनः उम्मेदवारी नदिने घोषणा गरेको तथा नेकपा एमालेबाट नवप्रवेशी पशुपतिदयाल मिश्र मेयरको उम्मेदवार भएपछि गठबन्धनभित्र मुख्यतः जसपा र कांग्रेसबीचमा मनमुटाव हुन पुगेको हो ।
उता, पाँच दलीय गठबन्धनको केन्द्रीय निर्णयअनुसार पर्सास्थित वीरगञ्ज महानगरपालिका जसपालाई दिने ‘सैद्धान्तिक सहमति’ भएपछि कांग्रेसको स्थानीय नगर कमिटी बिच्किन पुगेको छ ।
वीरगञ्ज महानगर समितिका सभापति मनिन्द्रलाल श्रेष्ठले वीरगञ्जमा कांँग्रेसको स्वभाविक दावी रहेको उल्लेख गर्दै पाँच दलीय गठबन्धनबाट बाहिरिएर एक्लै निर्वाचनमा जाने निर्णय गराइसकेका छन् ।
केन्द्रीय निर्णयअनुसार गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा वीरगञ्ज महानगरका ३२ वटै वडाबाट गठबन्धनको विपक्षमा सुझाव आएको उल्लेख गर्दै महानगर सभापति श्रेष्ठले कांँग्रेसले एकल उम्मेदवारी दिने घोषणा गरेका छन् । जसका कारण जसपाले जितेको स्थानमा कांँग्रेसको दाबी स्पष्ट देखिएको छ ।
तात्कालीन जसपा नेपालबाट निर्वाचित प्रमुख विजय सरागवी एमाले प्रवेश गरे पनि गठबन्धनको केन्द्रीय सहमतिअनुसार सो स्थानमा जसपाको नै भागबन्डामा परेको छ ।
तर, जसपाको भागबन्डामा परेको कांँग्रेसले प्रमुख र उपप्रमुखमा दावी गर्दै सोअनुसार दिन गठबन्धनका अन्य दल तयार नभएको खण्डमा गठबन्धन नै नगर्ने निर्णय गराएर दबाब बढाइसकेको छ ।
तत्कालिन राष्ट्रिय जनता पार्टी नेपालले विजयी हासिल गरेको जनकपुरधाम उपमहानगरपालिकामा कांँग्रेसले दावी गरेको छ ।
हाल महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा नेपाल)ले नेतृत्व गरेको जनकपुरधाममा कांँग्रेसले दावी गर्दै नपाएको खण्डमा एकल रुपमा उम्मेदवारी दर्ता गराउने भएको छ ।
नगर समितिका सभापति मनोजकुमार साहका अनुसार पाँच दलीय गठबन्धनको राजनीतिक संयन्त्रमा जनकपुरधाम कांँग्रेसले पाउनु पर्ने दावी प्रस्तुत गरिसकेका छन् ।
‘वडा अध्यक्ष र सदस्यमा गठबन्धन आवद्ध दलका बीचमा सहमति गरेर जान सकिने भए पनि मेयर र उपमेयर भने कांँग्रेसले पाउनु पर्छ,’ साहले भनेका छन्, ‘यदि हुँदैन भने जनकपुरमा मेयर उपमेयरसहित २५ वटै वडामा कांँग्रेसले एकल उम्मेदवारी दिनेछ, हामीलाई जित्न गठबन्धन चाहिँदैन ।’
जनकपुरमा अझैसम्म प्रमुख र उपप्रमुखको उम्मेदवारी घोषणा भइसकेको अवस्था छैन ।