मेलम्ची, खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्ची खानेपानी आयोजनाको दीर्घकालीन समाधानको प्रयासमा सरकार लागेको बताएका छन् । मेलम्चीको पानी सुरुङ्मा पठाएपछि सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
स्व। कृष्णप्रसाद भट्टराईले देखेको सपना आफ्नो कार्यकालमा सम्पन्न गर्न पाएकोमा गौरव लागेको उनले बताए ।
‘केही व्यक्तिहरुले वैशाखमा यो सरकारले मेलम्चीको पानी उपत्यकामा ल्याउन सक्दैन भनेर प्रचार गरेका थिए । तर, हामीले समयमै आयोजना पुनः सञ्चालन गरेर यसको जवाफ दिएका छौँ,’ मन्त्री चौँधरीले भने स्व. भट्टराईले देखेको सपना आफ्नो कार्यकालमा पुरा गर्न पाएकोमा गौरव लागेको छ ।’
बाढीबाट क्षतिग्रस्त समुदायको पुनःस्थापनाका लागि सरकारले योजना बनाएको पनि मन्त्री चौधरीले बताए ।
सुरुङमा पठाएको पानी सुन्दरी जलमा रहेको प्रशोधन केन्द्रमा प्रशोधित गरेपछि वैशाखको पहिलो साताबाट उपत्यकामा वितरण गर्ने मेलम्ची खानेपानी विकास समितिको तयारी छ ।
समितिका सिनियर डिभिजन इन्जिनियर पदमहादुर कुँवरले सुरुङ र हेडबक्स सफा गर्ने काम सकिएकाले सुरुङमा पानी पठाएको जानकारी दिए । केही काम बाँकी भएपनि सुरुङ र हेडबक्स सफा गर्ने काम सकिएकाले सुरुङमा पानी पठाइएको हो।
गत असार १ मा आएको बाढीले मेलम्ची खानेपानी आयोजनामा क्षति गरेको थियो ।