Sarokar News

Best News Forever

खेलकुद

मैत्रीपूर्ण फुटबल खेलमा थाइल्याण्डविरुद्ध खेल्दै नेपाल

काठमाडौ, फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलअन्तर्गत आज नेपालले थाइल्याण्डविरुद्ध खेल्दैछ । खेल थाइल्याण्डको चोनबुरीमा हुने खेल नेपाली समयअनुसार साँझ पौने ६ बजे सुरु हुनेछ ।

नेपाल र थाइल्याण्ड दुवै एएफसी एसिया कप–२०२३ को तेस्रो चरणमा प्रतिस्पर्धा गर्दैछन् । सोही प्रतियोगितालाई मध्यनजर गर्दै मैत्रीपूर्ण खेल खेलिन लागेको हो । नेपाल तेस्रो चरणको लागि समूह ‘ए’ मा रहेको छ । जहाँ जोर्डन, आयोजक टिम कुवेत र इन्डोनेसिया छन् ।

यता, थाइल्याण्ड भने समूह सी मा छ । जहाँ उज्वेकिस्तान, माल्दिभ्स र श्रीलंका एकै समूहमा छन् । फिफा वरीयता र तुलनात्मक रूपमा समेत बलियो देखिएको थाइल्याण्डविरुद्ध नेपाल किरण चेम्जोङको कप्तानीमा मैदान उत्रनेछ ।

हाल थाइल्याण्ड फिफा वरीयताको ११२ औं स्थानमा छ भने नेपाल १६७ औं स्थानमा छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले शहीद स्मारक ‘ए’ डिभिजन लिग विजेता मछिन्द्रका खेलाडीलाई बाहिर राख्दै टिम बनाएका हुन् ।

मछिन्द्रले २२ चैतमा श्रीलंकाको सुपर लिग च्याम्पियन ब्लू स्टारसँग दशरथ रंगशालामा खेल्ने तालिका रहेसँगै उसका आधा दर्जनभन्दा बढी खेलाडी थाइल्यान्ड भ्रमण बाहिर रहेका हुन् ।

स्ट्राइकर विमल घर्ती मगर, मनिष डाँगी, सुजल श्रेष्ठ, सुनिल बल, विशाल राई (बी), देवेन्द्र तामाङ, गोलरक्षक विशाल श्रेष्ठ, अभिषेक रिजाल, रेजिन धिमाललगायत खेलाडी मछिन्द्रसँग अनुबन्ध छन् ।

उनीहरूको अनुपस्थितिमा अब्दुल्लाहले युवा खेलाडी प्रशान्त अवस्थी, सुदिप गुरुङ, आकाश बुढा मगर, नवीन गुरुङ र गोलरक्षक टिकेन्द्र थापालाई मौका दिएका हुन् ।

नेपाली टिममा कप्तान किरण र रोहित चन्द भने क्रमशः माल्दिभ्स र इन्डोनेसियाबाट टिमसँग जोडिसकेका छन् । थाइल्याण्डपछि नेपालले त्यहाँको शीर्ष डिभिजनको चोनबुरी एफसीसँग १३ चैतमा खेल्नेछ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *