काठमाडौं, काठमाडौंको नागार्जुन नगरपालिका–६ रामकोटस्थित डाँडापौवामा सोमबार राति विष पिएको परिवारका ५ जनामध्ये एकको मृत्यु भएको छ भने ४ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ।
६२ वर्षीया इन्दिरामाया प्रधानसहित विष पिएका ४ जनाको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा भेन्टिलेटरमा उपचार भइरहेको हो।
३३ वर्षीय सुवर्णमान प्रधानको भने गएराति नै मृत्यु भएको प्रहरीले जनाएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार चारजनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।
इन्दिरामायासहित ३८ वर्षका भीम प्रधान, ३५ वर्षीया मन्दिरा डंगोल र ११ वर्षीया सुप्रेणा प्रधानको अवस्था गम्भीर छ। डाडाँपौवास्थित डेरामा विषका बट्टाहरू र पानीको बोतलमा घोलेर बाँकी रहेको विष फेला परेको छ।
यसैबीच, उनीहरुले विष पिउनुअघि लेखेको नोट भेटिएको छ। नोटमा उनीहरुले लेखेका छन्, ‘हामी संयुक्त रुपमा बिदा हुँदैछौँ ।’ सो परिवारले विषमा सिटामोलको धुलो बनाएर जुसजस्तो घोल बनाएको भेटिएको छ। ४ वटा बोटलमा घोलेर पिएको बाँकी रहेको विष प्रहरीले अनुसन्धानका लागि संकलन गरेको छ।
घटनाको कारण आर्थिक समस्या हुनसक्ने आकलन प्रहरीले गरेको छ। तर, यकिन कारण खुल्न बाँकी छ।