काठमाडौं । राष्ट्रियसभाका नवनिर्वाचित सांँसदहरूले पद तथा गोपनियताको शपथ लिएका छन्।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शनिबार सिंहदरवारस्थित संसद सचिवालयमा नवनिर्वाचित सांँसदहरूलाई पद तथा गोपनियताको सपथग्रहण गराए।
त्यसै अवसरमा पारेर उनले नवनिर्वाचित सांँसदहरूलाई संघीय संसदको लोगो पनि प्रदान गरे। गत १२ माघमा राष्ट्रियसभाका १९ जना सदस्यका लागि निर्वाचन भएको थियो।
निर्वाचनमा नेपाली कांँग्रेसबाट कृष्णप्रसाद पौडेल, गोपालकुमार बस्नेत, कमल पन्त, युवराज शर्मा, नारायणदत्त मिश्र र दुर्गा गुरुङ राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए।
त्यसैगरी नेकपा (माओवादी केन्द्रबाट उर्मिला अर्याल, सुरेश आलेमगर, नरबहादुर विष्ट, भुवनबहादुर सुनार र जगतबहादुर पार्की निर्वाचित भएका थिए।
नेकपा (एकीकृत समाजवादीबाट जयन्ति राई, गोमादेवी तिमिल्सिना, राजेन्द्रलक्ष्मी गैरे, मदनकुमारी शाह र उदयबहादुर बोहोरा निर्वाचित भएका थिए।
त्यसैगरी प्रमुख प्रतिपक्ष दल नेकपा (एमालेबाट सोनाम गेल्जेन शेर्पा, जनता समाजवादी पार्टीबाट मोहम्मद खालिद र राष्ट्रिय जनमोर्चाबाट तुलप्रसाद विश्वकर्मा राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए।