काठमाडौं, सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डेप्युटी गभर्नर निलम ढुंगानालाई कार्यबाहकको जिम्मेवारी दिइएको एक मन्त्रीले जानकारी दएका छन्।
ती मन्त्रीका अनुसार बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमै गभर्नर अधिकारीबारे प्रश्न उठेको र उनलाई निलम्बन गर्ने निर्णय गरेको हो।
गर्भनरले विलासी बस्तु आयात रोक्न अर्थ मन्त्रालयले दिएको निर्देशनसम्बन्धी सूचना चुहाएको लगायतका गम्भीर आरोप लगाउँदै उनीविरुद्ध छानबिन गर्नका लागि अनौपचारिक टिम बनाउने विषयमा पनि छलफल भएको थियो।
अधिकारीको योग्यता नपुगेको भन्दै उनीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको थियो। मुलुकमा आर्थिक संकटको अवस्था सिर्जना भएको र यस्तो अवस्थामा सूचना चुहाउने गरेको आरोप उनीमाथि लागेको छ।
अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सूचना चुहाएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए।
शुक्रबार काठमाडौंमा भएको नेपालको वित्त र अर्थ व्यवस्थाबारे राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले अर्थमन्त्रालयलाई राष्ट्र बैंकबाट आउने सुझाव मन्त्रालयमा पुग्नुभन्दा अगाडि सञ्चार माध्यममा पुग्ने गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए।
गत मंगलबार गभर्नर अधिकारीले मुलुकको बिग्रँदो अर्थव्यवस्थालाई सुधार गरी अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन भन्दै अर्थमन्त्री जनार्दन शर्मालाई १५ बुँदे लिखित सुझाव दिएका थिए।
सो सुझाव आफूकहाँ पुग्नुभन्दा अगाडि सञ्चार माध्यममा आएको भन्दै उनले गभर्नरप्रति असन्तुष्टि जनाएका थिए।
यसरी आधारबिना गर्भनर हटाउँदा मुलुकमा आर्थिक संकट निम्तिने पूर्व गभर्नरसमेत रहेका राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दिपेन्द्रबहादुर क्षेत्रीले बताएका छन्।
उनले भने, यसरी कुनै आधारबिना नै गभर्नरलाई निलम्बन गर्ने निर्णय गर्नु गैरजिम्मेवारपूर्ण कुरा हो। यसले मुलुककोअर्थतन्त्र थप संकटमा पार्छ।