काठमाडौ, सत्तारुढ नेपाली कांँग्रेसले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्ष्य गरेर ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने भएको छ।
यही फागुन २९ गते सुरु हुने ‘घरघर जाऔँ, नेपाली कांँग्रेसलाई जिताऔँ’ अभियान सञ्चालनका लागि कांँग्रेसले देशका सबै जिल्लामा केन्द्रीय प्रतिनिधि पठाउने भएको हो।
जिल्लामा खटिने प्रतिनिधिलाई प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यालय सानेपा बोलाएका छन्।
जिल्ला–जिल्लामा खटिने पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई अभियान प्रभावकारी बनाउनका लागि निर्देशन दिन मंगलबार सानेपा बोलाइएको कांग्रेसले जनाएको छ।
‘स्थानीय तहको चुनावलाई लक्षित गरेर हामी ‘घरघर जाऔँ, नेपाली कांँग्रेसलाई जिताऔँ’ अभियान सञ्चालन गर्दैछौँ,’ मुख्य सचिव कृष्णप्रसाद पौडेलले भने, ‘त्यसका लागि ७७ जिल्लामा ७७ जना प्रतिनिधिहरु खटाउने तयारी छ। उहाँहरुलाई सभापतिज्यूले निर्देशन दिन बोलाउनुभएको छ।’
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले पनि अभियान प्रभावकारी बनाउन जिल्ला खटिने केन्द्रीय सदस्यहरुलाई निर्देशन दिन सानेपा बोलाइएको जानकारी दिए।
कांग्रेसले ‘घरघर जाऔँ, नेपाली कांँग्रेसलाई जिताऔँ’ फागुन २९ गतेदेखि चैत २९ गतेसम्म सञ्चालन गर्दै छ।
फागुन ३ गते सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी वैशाख ३० का लागि तोकिएको स्थानीय तहको निर्वाचनमा पार्टीलाई विजयी गराउने लक्ष्यका साथ ‘घरघर जाऔँ, कांँग्रेस जिताऔँ’ अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।
बैठकले देशव्यापी सञ्चालन हुने उक्त अभियान फागुन २० देखि चैत २० सम्मका लागि निर्धारण गरेको थियो।
तर, अमेरिकी सहायता परियोजना एमसीसी अनुमोदनमा पार्टी केन्द्रित भएका कारण आवश्यक तयारी नपुगेको भन्दै अभियान पछि धकेलिएको हो।