काठमाडौ, ललितपुरको कोन्ज्योसोम गाउँपालिका-४, नल्लुमा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ ।
सोमबार चार जनाको घरभित्रै र अचेत भेटिएका दुई दिने नवजात शिशुको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी यज्ञविनोद पोखरेलले जानकारी दिए ।
उनका अनुसार नवजात शिशुसहित अन्दाजी ५५ वर्षीया घरमुली काइली स्याङताङ, उनकी बुहारी २२ वर्षीया सुष्मा, नाति ९ वर्षीय आशिष र नातिनी ५ वर्षीया आश्माको मृत्यु भएको छ ।
अचेत रहेका २३ वर्षीय सुवास स्याङताङको पाटन अस्पतालमा उपचार भइरहेको उनले बताए । नवजात शिशुलाई न्यानो पार्न कोइला बालेर सुत्दा निसास्सिएर मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
प्रहरीले घटना घटेको कोठामा कोइला बालेको र बान्ता भएको देखिएको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।