Sarokar News

Best News Forever

१ नम्बर प्रदेश देश समाज मुख्य समाचार राजनीति समाचार

विराटनगर महानगरको मेयरको उम्मेदवारमा एमालेबाट पाँचजनाको नाम सिफारिस, लालबाबु परेनन्

विराटनगर, आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि प्रमुख प्रतिपक्षी नेकपा एमाले विराटनगर महानगरपालिकाको मेयरमा पाँचजनाको नाम सिफारिस गरेको छ।

विराटनगरस्थित पार्टी कार्यालयमा शनिबार बसेको एमाले विराटनगर महानगर कमिटी बैठकले मेयरमा र उपमेयरमा तीनजनाको नाम मोरङ जिल्ला कमिटीमा सिफारिस गरेको हो।

एमालेले मेयरमा रामलाल साह, बाबुराम कार्की, सागर थापा, परशुराम बस्नेत र महेश भट्टराईको नाम सिफारिस गरेको हो।

सिफारिसमध्ये साह एमाले केन्द्रीय सदस्य हुन्। बस्नेत र भट्टराई प्रदेश कमिटी सदस्य, कार्की जिल्ला उपाध्यक्ष र थापा एमाले विराटनगर महानगरका अध्यक्ष हुन्।

एमालेले उपमेयरमा शिल्पा कार्की, विमला घिमिरे दाहाल, अञ्जु उपाध्याय शिलाु को नाम सिफारिस गरेको छ। एमाले विराटनगर महानगर अध्यक्ष सागर थापाका अनुसार दाहाल प्रदेश सदस्य, उपाध्याय जिल्ला सदस्य र कार्की महानगरकी उपाध्यक्ष हुन्।

एमालेले सर्वसम्मत एकजना मात्रै उम्मेदवार छनोट गर्न खोजेको थियो। पार्टी केन्द्रले तल्ला कमिटीलाई एउटा पदका लागि बढीमा तीनजनाको नाम पठाउन भनेको थियो।

महानगर कमिटीमा लामो छलफल भएपनि आकांक्षीहरु धेरै भएपछि मेयरमा पाँच र उपमेयरमा तीन जनाको नाम जिल्ला कमिटीमा सिफारिस गरिएको हो।

एमालेले महानगरपालिकाका मेयर र उपमेयरको उम्मेदवार केन्द्रीय कमिटीले टुंगो गर्ने निर्णय गरिसकेको छ। यसअघि विराटनगर महानगरको मेयरमा पूर्वमन्त्री लालबाबु पण्डित पनि आकांक्षी थिए।

तर उनको नाम महानगर कमिटीले सिफारिस गरेको छैन। अर्का नेता जीवन घिमिरेले आफ्नो नाम नपठाउन भनेको बताइएको छ। एमालेले महानगरका तीन वडाका वडाअध्यक्ष र सदस्यका उम्मेदवारको पनि टुंगो गरेको छ।

विराटनगर महानगरपालिका १०, ११ र १९ नम्बर वडामा उम्मेदवार सर्वसम्मत छानिएको हो।

१० को वडाअध्यक्षमा अर्जुन गिरी, ११ को वडाध्यक्षमा तिर्थेन्द्र न्यौपाने र १९ को वडाध्यक्षका लागि श्याम घिमिरेको नाम सर्वसम्मतिले टुंगो लगाइएको थापाले बताए। न्यौपाने अहिले पनि वडाअध्यक्ष छन्।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *