Sarokar News

Best News Forever

१ नम्बर प्रदेश देश समाज समाचार

संखुवासभा बस दुर्घटनाका १० मृतकको पहिचान खुल्यो

संखुवासभा– संखुवासभाको मादी नगरपालिका–६ मा आज बिहान भएको बस दुर्घटनामा परी मृत्यु हुनेमध्ये १० जनाको पहिचान खुलेको छ।

मृत्यु हुनेमा सवारी चालक तेह्रथुमको औँशीडाँडाका ३० वर्षीय विपिन निरौला, मादी–४ का सहचालक ३५ वर्षीय उमेश भट्टराई, मादी–५ का ४५ वर्षीय दीपक दाहाल, ५२ वर्षीय श्याम शेर्पा र ५५ वर्षीय भवानी दाहाल रहेका छन्।

त्यस्तै मादी–६ का ३८ वर्षीय इन्द्रबहादुर अधिकारी, ३८ वर्षीय आइतबहादुर तामाङ, ३५ वर्षीया सविता राउत कार्की, मादी– ६ की अञ्जना कटुवाल र मादी– ५ की दीक्षा कटुवाल रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए।

आज बिहान साढे ७ बजे मादीको ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको बस दुर्घटनामा परेको थियो। बस मादी–६ को सातघुम्ती नजिकै दुर्घटनामा परेको हो।

बस सडकबाट करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ। बस तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरी नायब उपरीक्षक सुवेदीले बताए।

दुर्घटनामा परेका पाँच जनाको भने जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ। घाइते हुनेमा मादी–५ का सुवाष गोले, युवा पोख्रेल र मादी–६ का तुलसा कटुवाल, अम्बिका विक, डम्बरबहादुर कार्की रहेका छन्।

गम्भीर घाइतेलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *