जनकपुरधाम, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादी हारे देश हार्ने बताएका छन् ।
मंगलबार जनकपुरधाममा चुनाव लक्षित मधेस प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले माओवादी हारे देश हार्ने र सहिदको सपनामाथि कुठाराघात भई संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त हुने बताएका हुन् ।
प्रतिक्रियावादी र अन्तर्राष्ट्रिय शक्तिहरू माओवादीलाई सिध्याउने हिसाबले षड्यन्त्र गरिरहेकोसमेत उनले जिकिर गरे ।
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई ठूलो लडाइँको रुपमा लिन नेता-कार्यकर्तासँग आग्रह गर्दै उनले सोहीअनुसार योद्धा जस्तै चुनावको तयारीमा जुट्न निर्देशनसमेत दिए ।
उनले भने,‘आगामी निर्वाचन अन्य दलको लागि निर्वाचन हुन सक्छ तर हाम्रो लागि लडाइँ हो । त्यसैले लडाइँकै हिसाबले तयारी गर्नुस् । गठबन्धन गरेर चुनाव जितौँला भन्ने मानसिकता बदल्नुस् ।’
‘माओवादीकै कारण देश संघीय लोकतान्त्रिक गणतन्त्र बनेको हो । समानुपातिक, समावेशीता लागू भएको हो,’उनले थपे,‘यस विरुद्ध प्रतिक्रन्तिकारी शक्ति र विदेशी शक्तिहरु एकजुट भएर उल्टाउन खोज्दैछन् ।’
अध्यक्ष दाहालले प्राप्त उपलब्धिको रक्षा गर्न माओवादी जित्नै पर्ने बताएका छन् । अबको निर्वाचनमा धाँधली गर्नेहरूलाई प्रतिकार गर्न, नंग्याउन र परास्त गर्नसमेत दाहालले निर्देशन दिए ।
देशमा माओवादीलाई हराउन ठूलो षड्यन्त्र भइरहेको दाबी गर्दै उनले कांँग्रेसले आफ्ना नेता(कार्यकर्ता एमालेमा पठाउनुको फण्डा के हो भनेर प्रश्न तेर्साए ।
अर्को प्रशंगमा बोल्दै अध्यक्ष दाहालले संघीयताको जननी र संरक्षक मधेशी जनता नै भएको दाबी गरे । देशमा भएको ठूलठूला परिवर्तनमा मधेशी जनताको महत्वपूर्ण योगदान रहेको उनको भनाई थियो ।
उनले काठमाडौंबाट आफू पराजित भए पनि सिरहाबाट भने विजयी भएर दोस्रो पटक प्रधानमन्त्री बन्ने अवसर प्राप्त गरेको बताए ।
माओवादी केन्द्रका मधेस प्रदेश प्रदेश इन्चार्ज गणेश साहको अध्यक्षतामा आयोजित प्रशिक्षण कार्यक्रममा पार्टीका स्थायी समिति सदस्य गिरिराजमणि पोखरेल, केन्द्रीय सदस्य नारायणकाजी श्रेष्ठ, भरत साह, रामकुमार शर्मा, दिलीप साहलगायत मधेसका आठवटै जिल्लाबाट अगुवा नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।