काठमाडौ, यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि देशका ७ सय ५३ वटै पालिकामा आजदेखि निर्वाचन अधिकृतको कार्यालय सञ्चालन हुँदैछ।
कार्यालय सञ्चालनका लागि सबै स्थानीय तहमा निर्वाचन अधिकृत र कर्मचारी पुगिसकेका निर्वाचन आयोगले जनाएको छ। आयोगले प्रशिक्षण दिएर अधिकृत र कर्मचारीलाई स्थानीय तहमा खटाएको हो।
उनीहरुले जिल्ला निर्वाचन कार्यालयको समन्वयमा रहेर पालिकामा कार्यालय स्थापनादेखि कर्मचारी व्यवस्थापनसम्मका काम गर्ने आयोगले जनाएको छ।
उनीहरुले चुनावको सबै तयारीदेखि लिएर आचारसंहिताको अनुगमन, मतदान र मतगणनापछि निर्वाचित जनप्रतिनिधिको घोषणा गर्नेछन्।
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन सम्पन्न गर्न देशका ७७ वटै जिल्लाका न्यायाधीशहरुलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ।
३० वैशाखमा हुने स्थानीय तह चुनावको लागि यही ११ र १२ गते उम्मेदवारी दर्ता हुँदैछ।
त्यसैगरी वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने, १४ र १५ गते मनोनयन पत्र र उजुरी जाँचबुझ गरी १६ गते अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ। त्यसैगरी १७ गते आयोगले उम्मेदवारलाई चुनाव चिह्न दिने तयारी गरेको छ।
निर्वाचन आयोगका अनुसार देशभर स्थानीय तहको निर्वाचन सम्पन्न गर्न १२ अर्ब खर्च हुने आकलन गरिएको छ। आयोगले मतदाता शिक्षा, मतपत्रको छपाइ, ढुवानी, निर्वाचन पर्यवेक्षण र मतदानमा खटिने कर्मचारीहरूको तलब र भत्तामा त्यति रकम खर्च हुने अनुमान गरेको छ।
निर्वाचन आयोगले आगामी वैशाख २९ गतेसम्म १८ वर्ष पूरा भएका मतदाताले स्थानीय निर्वाचनमा मतदान गर्न पाउने निर्णय गरेको छ। स्थानीय तहको निर्वाचनमा करिब १ करोड ७९ लाख मतदाता रहने निर्वाचन आयोगको आकलन छ।