11.3 C
Nepal
Wednesday, November 29, 2023
spot_img
spot_img

१२ वर्षपछि साउदीका विदेशमन्त्री नेपाल आउँदै

spot_img

काटठमाडौ, साउदी अरबका विदेशमन्त्री फैजल बिन फरहान बिन साउद सोमबार नेपाल आउँदैछन्। फैजल त्यहाँका राजकुमार पनि हुन्।

१२ वर्षअघि नोभेम्बर २०१० मा साउदीका राजकुमार अलवालिद बिन तलाल नेपालको अनौपचारिक भ्रमणमा आएका थिए। तात्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारले तलाललाई महाउज्जवल राष्ट्रदीपबाट विभूषित पनि गरेको थियो।

महाउज्जवल राष्ट्रदीप नेपालले विदेशी नागरिकलाई दिने गरेको उच्च विभूषण हो। उनी निजी भ्रमणमा आए पनि उक्त विभूषण दिइएको भन्दै त्यसबेला सरकारको आलोचना पनि भएको थियो।

तलालपछि साउदी अरबमा भ्रष्टाचार प्रकरणमा जेल पनि परे। यद्यपि सन् २०१८ जनवरीमा उनी जेलमुक्त भए।

साउदी अरब र नेपालबीच एक दशकयता द्विपक्षीय भ्रमण निकै कम भएका छन्। खाडी मुलुक साउदीका तर्फबाट दोश्रोपटक राजकुमारको तहमा भ्रमण हुन लागेको हो।

साउदीबाट उच्चस्तरीय भ्रमण नभए पनि नेपालबाट भने विगतमा साउदीमा त्यस्ता भ्रमण भएका थिए। सन् १९८३ मा तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्य साउदीको औपचारिक भ्रमणमा गएका थिए।

नेपालबाट साउदीतर्फ मन्त्री तहमा छिटफुट भ्रमण पनि भए। सन् २००५ मा तत्कालीन युवराजधिराज पारस साउदीका राजाको निधनमा श्रद्धाञ्जली दिन साउदी अरब गएका थिए। सन् १९८३ मा तत्कालीन राजकुमार ज्ञानेन्द्र साउदी अरब गएका थिए।

उच्चस्तरीय भेटवार्ता हुने

- Advertisement -

परराष्ट्र मन्त्रालयले साउदीका विदेशमन्त्री औपचारिक भ्रमणमा नेपाल आउन लागेको जनाएको छ। साउदीका विदेशमन्त्रीले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र समकक्षी नारायण खड्कासँग भिन्दाभिन्दै भेटवार्ता गर्ने मन्त्रालयले जनाएको छ।

परराष्ट्रमन्त्री खड्काले साउदी विदेशमन्त्रीलाई दिवाभोज दिने भएका छन्। साउदीका विदेशमन्त्री २४ घण्टा नेपालमा रहनेछन्। उनको भ्रमण टोलीमा दुई दर्जन अधिकारी रहनेछन्।

दक्षिण एसियाली मुलुकको भ्रमणका क्रममा उनी नेपाल आउन लागेको बताइएको छ। उनी आइतबार श्रीलंका आइपुगेका छन्।

श्रीलंकाको राजधानी कोलम्बोबाट साउदी विदेशमन्त्री फैजल सोमबार अपरान्ह ४ बजे त्रिभुवन विमानस्थलमा उत्रनेछन्। उनी चार्टड विमानमा नेपाल आउनेछन्। फैजललाई नक्सालस्थित होटल म्यारियटमा बस्ने व्यवस्था मिलाइएको छ।

एक साताअघि मात्रै काठमाडौस्थित साउदी दूतावासले परराष्ट्र मन्त्रालयलाई विदेशमन्त्री फैजल नेपाल भ्रमणमा आउन चाहेको बताएको थियो।

हाल टर्की भ्रमणमा रहेका परराष्ट्रमन्त्री खड्का साउदीका विदेशमन्त्रीको भ्रमणकै लागि सोमबार बिहान स्वदेश फर्किंदैछन्।

‘साउदीका विदेशमन्त्रीको भ्रमण अचानक तय भएको हो। भ्रमणमा उनीहरुकै चाहनामा हुँदैछ, कुनै विशेष एजेन्डा छैनन्,’ परराष्ट्र मन्त्रालयका एक अधिकारीले नेपालखबरसँग भने।

भ्रमणको तयारी गरिरहेको परराष्ट्र मन्त्रालयले अर्थ, श्रम र पर्यटन मन्त्रालयसँग भ्रमणमा उठाउनुपर्ने सम्भावित एजेन्डाबारे हालै छलफल गरेको थियो।

एक सम्झौतापत्रमा हस्ताक्षर हुने

साउदी विदेशमन्त्रीको भ्रमणमा नेपाल र साउदी सरकारबीच जेनरल कोअपरेसन एग्रिमेन्ट (जीएसए) मा हस्ताक्षर हुने भएको छ। मन्त्रिपरिषद् बैठकले गतसाता उक्त सम्झौतामा हस्ताक्षरका लागि स्वीकृति प्रदान गरेको थियो।

नेपाल र साउदीबीच राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा सहकार्यका लागि उक्त सम्झौताले मार्गनिर्देश गर्ने बताइएको छ।

दुई नेपालीलाई आममाफी दिन आग्रह गरिने

परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार साउदीमा मृत्युदण्डको सजाय कुरिरहेका दुईजना नेपालीलाई आममाफी दिन विदेशमन्त्रीलाई अनुरोध गरिने भएको छ। उनीहरु अहिले साउदीका दुई भिन्दाभिन्दै जेलमा छन्।

शनिबार मात्रै साउदी अरबले एकै पटक ८१ जना व्यक्तिलाई विभिन्न मुद्दामा मृत्युदण्ड दिएको थियो।

साउदी अरब नेपालीहरुको रोजगारीको प्रमुख गन्तव्य हो। अहिले त्यहाँ चार लाखभन्दा बढी नेपाली कामदार छन्। नेपाली महिला साउदीमा हाउसमेडका रुपमा कार्यरत छन्।

त्यहाँको कृषि तथा निर्माण क्षेत्रमा पनि उल्लेख्य संख्यामा नेपाली कामदार छन्। साउदी अरब नेपाली युवाको रोजगारीको प्रमुख गन्तव्य भएपनि नेपाल र साउदी अरबबीच श्रम सम्झौता छैन।

नेपालले श्रम सम्झौताका लागि पटकपटक प्रस्ताव गरेपनि साउदीले त्यसमा सकारात्मक जवाफ दिएको छैन।

साउदीबाट ऋण नलिइने

साउदी अरबले विगतमा नेपालको पुनर्निर्माण र जलविद्युत् क्षेत्रमा ऋण सहायता दिइसकेको छ। साउदी फन्ड फर डेभलपमेन्टका उपाध्यक्ष खालिद बिन सुलेमानको सन् २०१९ मा भएको नेपाल भ्रमणमा साउदीले नेपाललाई ३.३ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण सहायता उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर भएको थियो।

तर, यसपटक ऋण नलिने सरकारको भनाइ छ। ‘साउदी फन्डअन्तर्गतको पैसाको ब्याजदर चर्को हुने हुँदा हामीले ऋण नलिने सोचाइ बनाएका हौँ’ अर्थ मन्त्रालयका एक अधिकारीले भने।

सन् २०१४ मा साउदी फन्डबाट नेपालले २।८५ अर्ब रुपैयाँ ऋण लिएको थियो। उक्त रकम अछामस्थित बुढीगंगा जलविद्युत् परियोजना निर्माणमा खर्च भएको थियो।

को हुन् फैजल ?

फैजल साउदीमा दुई दशक व्यापार क्षेत्रमा क्रियाशील थिए। उनी सन् २०१७ मा राजनीतिमा प्रवेश गरे। फैजललाई त्यहीबर्ष तत्कालीन युवराज मोहम्मद बिन सलमानले सल्लाहकार नियुक्त गरे।

त्यसपछि केही समय उनले कूटनीतिज्ञका हैसियतमा पनि काम गरे। दुई वर्षपछि सन् २०१९ अक्टोबरमा साउदी अरबका विदेशमन्त्री बने। त्यहाँका राजा सलमानले उनलाई विदेशमन्त्री नियुक्त गरेका थिए।

१९७४ को नोभेम्बरमा जर्मनीमा जन्मेका उनी साउदीमा हुर्के। रियादको किङ साउद युनिभर्सिटीमा उनले बिजनेस एडमिनिस्टेसन अध्ययन गरेका थिए।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img