काठमाडौ, नेकपा एमाले छाडेका माधव नेपालसहित १४ जना सांसदविरुद्धको रिट निवेदनमा आज पूर्ण सुनुवाइ हुने भएपछि त्यसलाई रोक्न निवेदन परेको छ।
पूर्ण सुनुवाइका लागि न्यायाधीश अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा पेसी तोकिएको अवस्थामा माधव नेपाल पक्षले निवेदन दिएको हो।
यसअघि फागुन २९ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार चुँडालको संयुक्त इजलासले पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश दिएको थियो।
निवेदकले संवैधानिक तथा कानुनी प्रश्न उठाएको भन्दै छिटोछरितो निरुपण गर्ने गरी रुपमा पूर्ण सुनुवाइ गर्न आदेश दिइएको हो।
एमाले अध्यक्ष केपी ओलीले निर्वाचन आयोगलाई समेत विपक्षी बनाई रिट हालेका थिए। एमालेले नेपालसहित १४ सांँसदलाई पार्टीबाट निष्कासन गरेपछि सभामुख अग्निप्रसाद सापकोटालाई पत्राचार गरेको थियो।
तर, सभामुख सापकोटाले कारबाही अघि नबढाई सूचना टाँस्न अस्वीकार गरिदिए। आयोगले पनि नेपाल नेतृत्वको समाजवादीलाई दलको मान्यता दिएपछि अध्यक्ष ओलीले रिट हालेका थिए।
यही विषयलाई लिएर गत भदौ २३ गतेदेखि एमालेले प्रतिनिधि सभा बैठकमा पनि निरन्तर अवरोध गरिरहेको छ।