काठमाडौ, राजस्व अनुसन्धान विभागले बहुराष्ट्रिय कम्पनी कोका-कोलाविरुद्ध ७ अर्ब ४३ करोड बिगो दाबी गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ।
विभागले नेपालमा कोका–कोला उत्पादन गर्ने बोटलर्स नेपालविरुद्ध सात अर्ब ४३ करोड ६३ लाख ८ सय २२ बिगो दाबी गर्दै मुद्दा हालेको हो।
विभागले मागेको साढे ५ महिनापछि कार्यालयले नेपालमा कोका–कोला बिक्रीवितरण गर्ने बोटलर्स नेपालविरुद्धको अनुसन्धानमा आफ्नो राय प्रदान गरेको थियो।
गतहप्ता सरकारी वकिलको कार्यालयले कर छली गरेको विषयमा राजस्व अनुसन्धान विभागलाई आफ्नो राय दिएको थियो।
विभागले गत वर्ष मंसिर अध्ययनले बोटलर्स नेपालले राजस्व छली गरेको निष्कर्ष निकालेको हो। उक्त निष्कर्षसहितको अध्ययन रिपोर्ट गत भदौमा सरकारी वकिल कार्यालयलाई बुझाएर राय माग गरिएको थियो।
यसअनुसार दुई हप्ता अघि कार्यालयले विभागलाई यसबारे आफ्नो राय प्रदान गरेको हो। ७ अर्ब रुपैयाँ बढी पुँजीगत लाभकर छली गरेको र त्यहीअनुसारको जरिवाना तथा बिगो कायम गरी मुद्दा चलाउन मनासिब हुने सरकारी वकिलको कार्यालयले प्रदान गरेको राय अनुसार मुद्दा दायर गरेको हो।
कोका–कोलाको हाल चुक्ता पुँजी १९ करोड ४८ लाख रुपैयाँ छ। कोका–कोलाले वार्षिक ५ अर्ब रुपैयाँबराबरको कारोबार गर्ने गरेको छ।
राजस्व छलीमा कोका–कोलाको तर्फबाट समेत भनाइ ल्याउन विभागलाई सरकारी वकिलको कार्यालयले भनेको थियो।
सोहीअनुसार पुस २ गते कोका–कोला प्रतिनिधिलाई सात दिनभित्र विभागमै उपस्थित हुन भन्दै सार्वजनिक सूचना जारी गरिएको थियो। बोटलर्स नेपाल प्रालि बालाजुले इमेलमा जवाफ पठाएर मुद्दा रोक्न विभागलाई भनेको थियो।
बोटलर्स नेपालले राजस्व अनुसन्धान विभागलाई पठाएको इमेलमा आधिकारिक पदाधिकारीहरु नेपालमा उपलब्ध नरहेको र हालको अवस्थालाई मध्यनजर गर्दै मुद्दा रोकिदिन आग्रह गरेको थियो।
तर उक्त इमेलबाट आएको जवाफमा विभागले चित्त बुझाएन। विभागले विदेशमा रहेका पदाधिकारी वा उपलब्ध नभए नेपालमा नै रहेका कुनै पनि सम्बन्धित व्यक्ति भए पनि उपस्थित हुन भनेको थियो।
तर, कोही पनि विभागमा नगएपछि विभागले सोहीअनुसार राय माग गर्दै फाइल कार्यालयमा पठाएको थियो। विभागका अनुसार विदेशमा रहेका अधिकारीहरु पनि आएनन् र कम्पनीले उक्त करको जिम्मेवारी लिन मानेन।
कम्पनीले सुरुमा कर तिर्ने जिम्मेवारी वहन गर्छु भनेको भए मुद्दाको कुरा रोकिन पनि सक्ने अवस्था रहेको विभागको भनाइ छ।
बोटलर्स नेपाल लिमिटेडमा रहेको विदेशी लगानीकर्ताको सेयर विदेशमा किनबेच हुँदा नेपाललाई पुँजीगत लाभकर नतिरेको आरोप कम्पनीमाथि लागेको हो।
नेपाललाई जानकारी नै नदिई बोटलर्स नेपाल लिमिटेडमा लगानी रहेको विदेशी कम्पनीको स्वामित्व परिवर्तन भएको विभागको अनुसन्धानले देखाएको छ।
बोटलर्स नेपालमा ३ किसिमका लगानीकर्ता छन्। यसमा ७५ प्रतिशत विदेशी लगानी छ भने २२ प्रतिशत लगानी नेपालकै खेतान समूहको छ। बाँकी चाहिँ सर्वसाधारणको लगानी छ।
कम्पनीको ७५ प्रतिशत लगानीयुक्त सेयर स्वामित्व ६ वर्षअघि नै परिवर्तन भएको खुलेको छ। विदेशी लगानीकर्ताले सो जानकारी कम्पनी रजिस्ट्रारको कार्यालय, उद्योग विभाग र कर कार्यालयलाई समेत गराउनुपर्नेमा अहिलेसम्म गराएका छैनन्।
स्वामित्व परिवर्तन हुँदा नेपालको आयकर ऐनअनुसार २५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था छ।
नेपालको बोटलर्स नेपालको ७५ प्रतिशत सेयर स्वामित्व अफ्रिकामा रहेको अफ्रिका बोटलिङ कम्पनी (साप्को)ले द कोका–कोला बोटलिङ इन्भेस्टमेन्ट ग्रुपलाई बिक्री गरेको देखिएको हो।
उक्त किनबेच आजभन्दा ६ वर्षअघि अर्थात् सन् २०१४ मा भएको समेत अनुसन्धानमा देखिएको छ। नेपालमा लगानी रहेको सेयर बिक्री हुँदा पुँजीगत लाभकर लाग्नेमा कम्पनीले स्वामित्व परिवर्तन हुँदा कर छली गरेको अनुसन्धानले देखाएको हो।
अर्बौँ राजस्व छली गरेको कोका–कोला उत्पादन गर्ने बोटलर्स नेपालले कर नतिर्न यहीबीचमा लगानी थप गर्ने समेत प्रस्ताव ल्याएको छ।