सर्लाही, सर्लाहीको मलंगवामा अपहरणपछि एक बालकको हत्या भएको छ। गत आइतबार रातिदेखि हराइरहेका मलंगवा नगरपालिका १२ का दीपेन्द्र ठाकुरका ८ वर्षीय छोरा मिठु भनिने आकाश ठाकुरको हत्या भएको हो।
आकाशको शव ५ दिनपछि छिमेकी जगदीश ठाकुरको सेप्टिक ट्यांकीमा फेला परेको छ। बोरामा हालेर ट्यांकीमा फालिएको शव बिहीबार बिहान प्रहरीले निकालेको सर्लाहीका प्रहरी प्रमुख एसपी प्रवीण पोख्रेलले बताए।
प्रादेशिक अस्पताल मलंगवामा बालकको शव पोस्टमार्टमपछि आफन्तलाई जिम्मा लगाइएको छ।
छिमेकी परिवार नै संलग्न
आइतबार गाउँमा न्वारानको भोज थियो। दीपेन्द्र ठाकुरका परिवार पनि त्यहाँ गएका थिए। तर, साँझ आकाश घर फर्किएनन्। राति १० बजेसम्म पनि घरमा नभएपछि परिवार र आफन्तले गाउँमा सोधीखोजी गरे। तर कतै पनि फेला पार्न सकेनन्।
त्यसपछि पेट्रोल पम्प चौकीमा खबर गरे। प्रहरी टोली पुग्यो। तर, चौकीको टोलीले फेला पार्न नसकेपछि जिल्ला प्रहरी कार्यालयबाट थप टोली खटियो। प्रहरीले खोल्साखाल्सी र आफन्तको घरतिर सोधीखोजी गर्यो। कहीँ पनि बालक फेला परेनन्।
साउदीमा रहेका बालकका मामा मुकेश ठाकुरको फेसबुक म्यासेन्जरमा एउटा नयाँ आईडीबाट म्यासेज पुग्यो।
‘मुकेश, सुन्दैछु दीपेन्द्रको छोरा हराएको छ। म खोजिदिन्छु, १५ लाख रुपैयाँ दिनुपर्छ। केटा मुर्तियामा छ’, मुकेशले पनि भान्जा हराएको खबर पाइसकेका थिए। मुकेशले आफ्नो म्यासेन्जरमा आएको म्यासेज गाउँमा सुनाए।
त्यो कुरा गाउँमा हल्ला भयो। त्यसपछि रामदुलार ठाकुरको मोबाइलमा म्यासेज गयो, ‘हल्लाखल्ला बन्द गरौँ। हल्ला धेरै गर्यौ भने केटा मारिदिन्छु।’
प्रहरी पहिल्यै खोजतलासमा लागिसकेको थियो। यो म्यासेजका बारेमा प्रहरीलाई जानकारी भयो। त्यसपछि जिल्ला प्रहरी कार्यालयले त्यो फेसबुकमा म्यासेज गर्ने व्यक्ति पत्ता लगाउनतिर लाग्यो।
प्रहरीको साइबर ब्युरोले फेसबुकसँग यसबारेमा जानकारी माग्यो। फेसबुकको सहायतामा खुल्यो, यो म्यासेज गर्ने व्यक्ति दीपेन्द्रकै छिमेकी रहेछन्। प्रहरीले उनलाई बुधबार राति पक्राउ गर्यो।
छिमेकी जगदीश बदई ठाकुरको परिवार नै पक्राउ परेको छ। उनका छोरा कृष्ण ठाकुर, बुहारी निरुता शर्मा, नेवा ठाकुर र संगीता बदई, सुनिल ठाकुर पक्राउ परेका छन्।
वडा नम्बर ११ मा घर भएका राकेश ठाकुरलाई पनि प्रहरीले पक्राउ गरेको छ। उनी पनि जगदीशका आफन्तै हुन्। अरु केही व्यक्ति फरार छन्।
‘कसैले अपहरण गरेछन्, कसैले हत्या गरेका छन्, कोहीले शव व्यवस्थापन गर्न मद्दत गरेको देखिएको छ,’ एसपी पोख्रेलले भने।
उनीहरुले त्यसै राति बालकको घाँटी थिचेर हत्या गरेछन्। एक दिन घरभित्रै भर्७शधवसयाङ नजिक शव राखेछन्। तर शव गन्हाउन थालेपछि भोलिपल्ट बोरामा हालेर सेप्टिक ट्यांकीमा फालिदिएको बताएका छन्। आरोपितको बयानका आधारमा शव निकालिएको एसपी पोख्रेलले बताए।
पक्राउ परेका व्यक्तिलाई म्याद थप गरेर अनुसन्धान गर्ने प्रहरीको तयारी छ।
छोरो खोज्न साउदीबाट आए दीपेन्द्र
बालकका बुबा दीपेन्द्र रोजगारीका लागि साउदीमा थिए। आइतबार साँझ छोरो हराएको खबर उनलाई त्यसैदिन पुग्यो। सोमबार कम्पनीमा कुरा गरे। र, मंगलबार नेपाल फर्किए।
काठमाडौं ओर्लिनासाथ सिधै घरतिर हानिए। दीपेन्द्र घर पुगेपछि आफन्तसँग मिलेर सोधीखोजी गरे। सबैतिर हेरे तर भेटेनन्। उता प्रहरीले अब पत्ता लाग्छ भनिरहेको थियो।
म्यासेजका आधारमा अनुसन्धान गरिरहेको थियो। प्रहरीले ४ दिनपछि पत्ता त लगायो तर दीपेन्द्रका छोरा जीवित भेटिएनन्। छिमेकीले पक्राउ परेपछि शव सेप्टिक ट्यांकीमा फालिदिएको बताए।
दीपेन्द्र र घटना भएको छिमेकीको घर २० मिटरको दुरीमा छ। तर प्रहरीले त्यति नजिकै घटना भएको शंकै गरेन।
‘बच्चा हराएपछि उनीहरु पनि खोजतलास गरिरहेका थिए। तर, उनीहरु त घरभित्र हत्या गरेर बाहिर खोजिरहेका रहेछन्,’ एसपी पोख्रेलले भने।