Sarokar News

Best News Forever

खेलकुद

अन्तिम अभ्यास खेलमा नेपाल श्रीलंका संयुक्त–११ सँग ९२ रनले पराजित

काठमाडौं– नेपाल चौंथो तथा अन्तिम अभ्यास खेलमा श्रीलंका संयुक्त–११ सँग पराजित भएको छ। शुक्रबार भएको खेलमा नेपाल ९२ रनले पराजित भएको हो।

२ सय ३३ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपाल ३५.२ ओभरमा १ सय ४० रनमा अलआउट भयो। नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रन बनाए। उनले ६२ बलमा ५ चौका र १ छक्का प्रहार गरे।

नेपालले ओपनर आसिफ शेखलाई सुरुवातमै ५ रनमै गुमाएको थियो। कुशल भुर्तेल ४८ बलमा ५ चौकासहित ३२ रनमा आउट भए। दीपेन्द्रसिंह ऐरी भने २ रनमै आउट भए। आरिफ शेख १३, रोहित कुमार पौडेल २१, सोमपाल कामी ८ र विनोद भण्डारी १ रनमा आउट भए।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंका संयुक्त–११ ले ४८=२ ओभरमा २ सय ३२ रनमा अलआउट भएको थियो। संयुक्त ११ को लागि अनुक फ्रेर्नान्डोले ६९ बलमा सर्वाधिक ५६ रन बनाए।

ओपनर सान्दुन विराक्कोडी ४९ रनमा आउट भए। ओपनर दिलसान मुनाविरा र सान्दुन विराक्वोडीले पहिलो विकेटका लागि १० ओभरमा कुनै विकेट नगुमाई ६१ रन बनाउँदै राम्रो सुरुवात दिलाएका थिए ।

मुनाविरा १४, श्रीलंका पूर्वकप्तान तथा विश्व चर्चित ब्याटर उपुल थरंगा ३ र स्टार अलराउन्डर थिसेरा परेरा ८ रनमा आउट भए। यता, चमारा सिल्भा ६ र निसन्था १८ रनमा आउट भए।

कुमारस्वामी ३० र दिलरुवान परेरा १४ रनमा आउट भए। नेपालका दीपेन्द्रसिंह ऐरीले १० ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए। बायाँ हाते स्पिनर सागर ढकालले ९ ओभरमा २ मेडनसहित २१ रन खर्चेर ३ विकेट लिए।

सोमपाल कामीले ९ ओभरमा ५५ रन खर्चेर २ विकेट लिए। सन्दीप लामिछानेले ९=२ ओभरमा ६१ रन खर्चेर १ विकेट लिए। आरिफ शेखले ६ ओभरमा १ मेडनसहित २२ रन खर्चेर १ विकेट लिए।

योसँगै नेपालको श्रीलंका भ्रमण सकिएको छ। नेपाल आईसीसी विश्वकप लिग २ अन्तर्गत युएई र पपुवान्युगिनीसँगको त्रिकोणात्मक ओडीआई सिरिजको लागि सोमबार दुबई पुग्नेछ।

नेपालले पहिलो अभ्यास खेलमा श्रीलंका नेभी स्पोर्ट्स क्लबलाई १ सय ११ रन र दोस्रो खेलमा नेभीलाई नै ८२ रनले हराएको थियो। बिहीबार तेस्रो अभ्यास खेलमा श्रीलंका पुलिसलाई १ सय ४४ रनले हराएको थियो।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *