Sarokar News

Best News Forever

देश समाज बागमती प्रदेश मुख्य समाचार समाचार

एआइजी बढुवाविरुद्धको रिट सर्वोच्चले गर्यो स्थगित

काठमाडौं, नेपाल प्रहरीका तीन जना प्रहरी नायब महानिरीक्षक (डीआइजी)लाई अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गर्ने निर्णयविरुद्ध परेको रिट सोमबार स्थगित भएको छ ।

अन्तरिम आदेश दिने वा नदिने भन्ने सम्बन्धमा सोमबारका लागि पेशी तोकिएकोमा सर्वोच्च अदालतले उक्त पेशी स्थगित गराएको हो ।

गत मंगलबार न्यायाधीश डा. कुमार चुडालको एकल इजलासले एआइजीमा बढुवा गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै कारण देखाउ आदेशसहित दुवै पक्षलाई चैत २८ गते छलफलका लागि बोलाएको थियो ।

डीआइजीहरु ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्कीले दर्ता गर्नुभएको रिटमाथि प्रारम्भिक सुनुवाई गर्नुहुँदै न्यायाधीश चुडालले गत मङ्गलबार अन्तरिम आदेश दिन अस्वीकार गरेका हुन् ।

यद्यपि, आज दुवै पक्षलाई छलफलमा बोलाइए पनि सर्वोच्चले उक्त पेशी स्थगित गरेको छ ।

एआइजीमा बढुवाविरुद्ध डीआइजीहरु ईश्वरबाबु कार्की चैत १७ गते र घनश्याम अर्याल र प्रकाशजंग कार्कीले चैत २० गते सर्वोच्चमा रिट दर्ता गरेका थिए ।

चैत्र १७ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका तीनजना डीआइजी धीरजप्रताप सिंह, वसन्त पन्त र रवीन्द्रबहादुर धानुकलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

सोही विषयलाई लिएर डीआइजी कार्कीसहित तीन जनाले सर्वोच्चमा रिट निवेदन दिएका थिए । त्यस्तै, यसअघि बढुवाविरुद्ध लोकसेवा आयोगमासमेत उजुरी परेको थियो । आयोगले एआइजी बढुवालाई सदर गरेपछि मन्त्रिपरिषद्ले बढुवा गर्ने निर्णय गरेको हो ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *