Sarokar News

Best News Forever

देश समाज बागमती प्रदेश राजनीति समाचार

एकीकृत समाजवादीले स्थानीय निर्वाचनमा पार्टीको सबै शक्ति परिचालन गर्ने

काठमाडौं– नेकपा (एकीकृत समाजवादी)ले आगामी स्थानीय तह निर्वाचनका लागि पार्टीको सम्पूर्ण शक्तिलाई परिचालन गर्ने निर्णय गरेको छ।

बिहीबार सम्पन्न नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीको सम्पूर्ण शक्तिलाई परिचालित गर्ने निर्णय गरेको हो।

बैठकले निर्वाचनमा पार्टीको शक्तिलाई परिचालित गर्नेगरी कार्ययोजना पारित गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए।

त्यसैगरी, एमसीसीको विपक्षमा रहेका मतहरुलाई पार्टीको बौद्धिक सम्पतिको रुपमा राखी आवश्यकता अनुसार आगामी दिनमा छलफल गर्ने र अहिले भने केन्द्रीय कमिटी बैठकले गरेको निर्णयलाई स्वीकार गरि अघि बढ्ने निर्णय गरिएको उनले बताए।

बैठकले अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र मोर्चा संगठन सञ्चालन निर्देशिका तथा सम्पर्क मञ्च सञ्चालन निर्देशिका केन्द्रीय सदस्यहरुले दिएको सुझावलाई समेटेर पारित गरेको छ।

पारित प्रतिवेदनमा वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति र राष्ट्रिय राजनीतिको परिस्थितिको विश्लेषण, एमसीसी र त्यसको व्याख्यात्मक घोषणाको चर्चा, पार्टीको संगठनात्मक कार्यहरुको समीक्षा र पार्टीको आगामी कार्ययोजना लगायतका विषय समेटिएको प्रचार विभाग प्रमुख खतिवडाले बताए।

बैठकले यसअघि पार्टीको केन्द्रीय सचिवालय र स्थायी कमिटी बैठकले गरेको राजनीतिक र सांगठनिक निर्णयहरु पनि अनुमोदन गरेको उनले बताए।

बैठकले १५ बुँदे समसामयिक प्रस्तावहरु पनि पारित गरेको छ। विश्वका विभिन्न देशहरुमा युद्ध भइरहेकोप्रति एकीकृत समाजवादीले खेद प्रकट गर्दै आक्रमणमा परेकाहरुप्रति सहानुभूति प्रकट गरेको छ।

पेट्रोलियम पद्धार्थमा भएको मूल्यवृद्धिले जनताको जनजीवन कष्टकर बनेकाले सरकारसँग दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि नियन्त्रण गर्न माग गरिएको खतिवडाले बताए।

बैठकले मुलुकको आर्थिक अवस्थाप्रति संवेदनशील हुँदै आमुल आर्थिक सुधार र विकास सम्बन्धी ठोस कार्यक्रम र नीति तर्जुमा गर्न सरकारसँग आह्वान गरेको पनि उनले बताए।

प्रचार विभाग प्रमुख खतिवडाले आगामी स्थानीय तह निर्वाचनमा गठबन्धनमा रहेका सम्पूर्ण दलहरुसँग सहकार्य गरी गठबन्धनका उम्मेदवारहरुलाई निर्वाचित गराउन र स्थानीय सरकारलाई भ्रष्टाचारमुक्त र जनमुखि ढंगले परिचालन गर्न बैठकले प्रतिवद्धता गरेको जनाए।

सुकुम्बासी समस्या समाधान आयोगले सही सुकुम्बासीको यथाशीघ्र पहिचान गरी प्रभावकारी ढंगले दीर्घकालीन समाधानको पहल गर्न समाजवादीले आह्वान गरेको छ।

त्यस्तैगरी, पञ्चायतकालमा राजनीतिक पूर्वाग्रहका कारण निष्काशनमा परेका शिक्षकहरुलाई पुर्नबहाली गर्न सरकारसँग माग गरिएको छ।

बैठकले सरकार सञ्चालनका लागि गठबन्धनले तयार पारेको साझा न्यूनतम कार्यक्रमलाई पूर्ण रुपमा कार्यान्वय गर्न पनि माग गरेको खतिवडाले बताए।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *