इलाम । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले संघीय निर्वाचनमा इलाम १ बाट उम्मेदवारी दिने बताउनुभएको छ । गृहजिल्ला इलाममा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले आगामी मंसिर ४ गते हुने संघीय निर्वाचनमा इलाम क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने बताउनुभएको हो ।
उहाँले प्रदेश र संघीय निर्वाचनमा तालमेलका लागि केन्द्रमा छलफल भइरहेको बताउदै तालमेलका विषयमा दलहरूले आ–आफ्नै प्रस्ताव समेत राखिरहेको बताउनुभयो ।
तालमेलमा स्थानीय तह निर्वाचनको मतलाई आधार मान्नु व्यावहारिक नहुने उहाँको भनाइ छ । स्थानीय निर्वाचनलाई भन्दा २०७४ सालकै प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मतपरिणामलाई आधार मान्नुु व्यवहारिक हुने नेता खनालले बताउनुभयो ।
उहाँले बामपन्थीको व्यापक मोर्चा बनोस् भन्ने पहिल्यैदेखि सबैले शुभेच्छा राखेको समेत बताउनुभयाे । देशको सबै भन्दा ठूलो बाम समूह लचिलो भए बाम एकता सम्भव हुने पनि उहाँकाे तर्क छ । तर, सबै भन्दा ठूलो बाम समूूहको नेतृत्वले आवश्यकता बोध गरेकाे खण्डमा मात्रै बाम एकता सम्भव रहेको उहाँले बताउनुभयाे ।
इलाममा आयोजित कार्यकर्ता प्रशिक्षण तथा पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको सम्मान कार्यक्रमका लागि उहाँ इलाममा आउनुभएको हाे ।