Sarokar News

Best News Forever

१ नम्बर प्रदेश मुख्य समाचार समाचार

सप्तकोशी नदीको जलस्तर अस्वभाविक बढ्ने आँकलन, तटीय क्षेत्रमा उच्च शतर्कता

सुनसरी। सप्तकोशी नदीको जलस्तर अस्वभाविक बढ्ने आँकलनसहित सुनसरी र सप्तरी प्रशासनले तटीय क्षेत्रमा उच्च शतर्कता अपनाएको छ ।

पूर्वी पहाडी भेगमा जारी अविरल वर्षाका कारण नदीको जलस्तरमा अस्वभाविक वृद्धि देखिएको भन्दै प्रशासनले तटीय क्षेत्रमा शतर्कता बढाएको हो ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले नदीको वराहक्षेत्रको मापनमा पानीको बहाव उच्च देखिएकाले आसपासको क्षेत्र उच्च जोखिममा रहेको भन्दै हाईअलर्टमा सबै संयन्त्र तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो ।

वराहक्षेत्रको बहाव चतरा मापनमा आइपुग्दा शतर्कता तह पार गर्ने सम्भावना देखिएकालेसमेत तटीय क्षेत्रसहित आसपासमा सावधानी बढाइएको पनि उहाँले बताउनुभयो ।

प्रजिअ यादवका अनुसार उक्त बहाव कोशी ब्यारेजको मापनमा आइपुग्दा ५ लाख क्यूसेकको हाराहारीमा पुग्नसक्ने देखिएकाले ब्यारेजमा समेत शतर्कता बढाइएको छ ।

यसैबीच कोशीको बाढीलाई मध्यनजर गर्दै सप्तरीतर्फ समेत प्रशासनले ‘हाइअलर्ट’ जारी गरेको छ । जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रहरी उपरीक्षक अभिनारायण काफ्लेले कोशी आसपासको क्षेत्रमा हाइअलर्ट जारी गरिएको बताउनुभयो ।

कोशी ब्यारेजले ९ लाख क्यूसेक बहाव धान्नसक्ने बताइए पनि नदीको सतहमा बालुवा थुप्रिएकाले ४ लाख क्यूसेक माथिको बहावलाई प्राविधिकहरूले सम्भावित जोखिमका रूपमा लिने गरेका छन् ।

सुनसरी र सप्तरी प्रशासनले नदीमा बाढीको खतरा बढेकाले तटीय क्षेत्रमा नजान र सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *