काठमाडौ, नेपाल आयल निगमसँग चार बुँदे सहमतिपछि पेट्रोलियम व्यवसायीहरुले आन्दोलन फिर्ता लिएका छन्।
शनिबार निगमको केन्द्रीय कार्यालयमा राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले राखेका मागहरुलाई लिएर सहमति जुटेको हो।
सहमति अनुसार पेट्रोलियम विक्रेता कमिशन र एलपी ग्यासको ढुवानी भाडा समायोजनसम्बन्धी मागबारे ७ दिनभित्र उचित निष्कर्ष निकालिने भएको छ।
त्यसैगरी अन्य पेट्रोलियम कारोबारसँग सम्बन्धित मागबारे जेठ १५ सम्ममा समाधान निकाल्ने आवश्यक कार्य गर्ने सहमति दुई पक्षले गरेका छन्।
यो सहमतिपछि नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशन, नेपाल एलपी ग्यास उद्योग संघ र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले सार्वजनिक गरेका विरोधका कार्यक्रम शनिबारदेखि फिर्ता लिएका छन्।
उनीहरुले पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको ढुवानी तथा बिक्री वितरणलाई यथावत सञ्चालन सहमति गरेका छन्।
सहमति अनुसार पेट्रोलियम पदार्थका उपभोक्ताहरूलाई सहज र सरल ढङ्गले पेट्रोलियम पदार्थ उपलब्ध गराउन निगमका सम्पूर्ण डिपो कार्यालय आइतवार बिहान ८ बजेदेखि नै सञ्चालन हुने भएका छन्।
दुवै पक्षले गर्मीयाम सुरू भइसकेकोले अत्यन्त प्रज्वलनशील पेट्रोलियम पदार्थ आवश्यक परिमाणमा मात्र किन्न र अनावश्यक भण्डार नगर्न पनि उपभोक्तालाई भनेका छन्।